फोहोर तथा मानव मलमूत्र व्यवस्थापनका लागि सल्यानका सात स्थानीय तहको साझा पहल

सल्यान, — फोहोर तथा मानव मलमूत्र व्यवस्थापनका चुनौती सामना गर्न सल्यानका सात स्थानीय तहले समावेशी सरसफाइ अवधारणाअन्तर्गत संयुक्त पहल सुरु गरेका छन्। बढ्दो सहरीकरणसँगै बजार क्षेत्रमा फोहोरको मात्रा बढ्दै जाँदा र सेफ्टी ट्यांकीबाट निस्किने फिकल स्लजको व्यवस्थापन जटिल बन्दै गइरहेका बेला स्थानीय तहहरू साझा समाधानको खोजीमा जुटेका हुन्।

शारदा नगरपालिकाको नेतृत्वमा आयोजित बैठकमा सहभागी स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले फोहोर व्यवस्थापन र मानव मलमूत्र प्रशोधनका लागि दीर्घकालीन योजना निर्माण गर्ने सहमति जनाएका छन्। बैठकले डम्पिङ साइटको व्यवस्थापन, प्रशोधन केन्द्र स्थापना, स्रोत–साधनको साझेदारी तथा फोहोरलाई आर्थिक गतिविधिसँग जोड्ने सम्भावनाबारे समेत छलफल गरेको जनाएको छ।

सहमतिअनुसार सहभागी स्थानीय तहहरूले आगामी नीति, कार्यक्रम र बजेटमा आवश्यक व्यवस्था मिलाउनेछन्। त्यसपछि संयुक्त रूपमा विस्तृत कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने बताइएको छ।

शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले समावेशी सरसफाइ केवल फोहोर संकलनसँग सीमित नभई मानव मलमूत्र व्यवस्थापन, वातावरण संरक्षण, जनस्वास्थ्य र स्थानीय आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्धित विषय भएको बताए। उनका अनुसार विभिन्न स्थानीय तहले सरसफाइ क्षेत्रमा आ–आफ्नै ढंगले काम गरिरहेका भए पनि जग्गा र स्रोत–साधनको अभावका कारण चुनौती सामना गर्नुपरेको छ। यही अवस्थालाई ध्यानमा राख्दै साझा पूर्वाधार र स्रोतको प्रयोगमार्फत समाधान खोज्ने प्रयास गरिएको उनले उल्लेख गरे।

बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले फोहोर व्यवस्थापन र समावेशी सरसफाइका विषयमा स्थानीय तहहरूबीच सामूहिक रूपमा छलफल हुनु सकारात्मक सुरुआत भएको बताए। सहकार्य प्रभावकारी रूपमा अघि बढेमा यो अभ्यास अन्य स्थानीय तहका लागि समेत उदाहरणीय बन्न सक्ने उनको भनाइ छ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले पनि यस पहलले नयाँ सोचको विकास गरेको बताए। विकास निर्माणका विभिन्न क्षेत्रमा सहकार्य हुँदै आए पनि घरधुरीबाट निस्किने फोहोर, प्लास्टिकजन्य सामग्री तथा मानव मलमूत्र व्यवस्थापनका विषयमा संयुक्त समाधान खोज्ने प्रयास पहिलो पटक भएको उनले बताए।

हाल अधिकांश स्थानीय तहले फोहोर व्यवस्थापनमा विभिन्न समस्या भोगिरहेका छन्। बजार क्षेत्रमा फोहोर थुप्रिने क्रम बढ्दो छ भने सेफ्टी ट्यांकीबाट निस्किने फिकल स्लजको सुरक्षित व्यवस्थापनका लागि आवश्यक पूर्वाधार धेरै स्थानमा उपलब्ध छैन। यसले वातावरणीय प्रदूषणसँगै जनस्वास्थ्यमा समेत असर पार्न सक्ने चिन्ता व्यक्त हुँदै आएको छ।

सरसफाइ क्षेत्रका जानकारहरूका अनुसार फोहोर व्यवस्थापन र मानव मलमूत्र व्यवस्थापनलाई अलग–अलग विषयका रूपमा नभई समग्र सरसफाइ प्रणालीको हिस्साका रूपमा हेर्न आवश्यक छ। सल्यानका स्थानीय तहले थालेको सहकार्यलाई यस दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

बैठकमा शारदा नगरपालिका, बागचौर नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र सिद्धकुमाख गाउँपालिकासहित सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

स्थानीय तहका जनप्रतिनिधिहरूले फोहोरलाई केवल समस्याका रूपमा नभई सम्भावित स्रोतका रूपमा उपयोग गर्न सकिने धारणा व्यक्त गरेका छन्। कम्पोस्ट मल उत्पादन, पुनःप्रयोग तथा पुनर्चक्रणका गतिविधिसँगै मानव मलमूत्र प्रशोधनमार्फत रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने उनीहरूको विश्वास छ।

सल्यानबाट सुरु भएको यो अभियानले स्थानीय तहहरूबीच सहकार्यको नयाँ अभ्यासको सुरुआत गरेको छ। सरसफाइ तथा फोहोर व्यवस्थापनजस्ता जटिल चुनौतीको समाधान सामूहिक प्रयासबाट सम्भव हुने सन्देश यस पहलले दिएको सहभागीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया