डुङ्गेश्वरमा पहिलो सुचारुपना सम्मेलन सम्पन्न, खानेपानी व्यवस्थापन बोर्ड गठन

दैलेख। डुङ्गेश्वर गाउँपालिकाले खानेपानी तथा सरसफाइ योजनाको दिगोपना, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले पहिलो सुचारुपना सम्मेलन -२०८३ सम्पन्न गरेको छ । सम्मेलनले ६ बुँदे घोषणापत्र जारी गर्दै खानेपानी योजनाको प्रभावकारी व्यवस्थापनका लागि डुङ्गेश्वर खानेपानी व्यवस्थापन बोर्डलाई सक्रिय बनाउने निर्णय गरेको छ ।

सम्मेलनले जारी गरेको ६ बुँदे घोषणापत्रमा गाउँपालिकाले NWASH MIS मा सबै खानेपानी योजनाको विवरण अद्यावधिक गरी खानेपानी सेवाको तथ्याङ्क सार्वजनिक गर्ने, खानेपानी व्यवस्थापन बोर्ड ऐन–२०८२ अन्तर्गत गठन भएको डुङ्गेश्वर खानेपानी व्यवस्थापन बोर्डलाई संस्थागत रूपमा सुदृढ गर्दै सबै योजनाको अनुगमन, नियमन र मर्मतसम्भार गर्ने, तथा सुचारुपना अनुगमन तथा मर्मतसम्भार सम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरी सबै सक्रिय योजनालाई अनिवार्य दर्ता, नियमन र नियमित मर्मतसम्भारको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यस्तै, सबै खानेपानी उपभोक्ता संस्थालाई व्यवस्थापन बोर्डमा आबद्ध गरिने, उपभोक्ता समितिले हरेक छ महिनामा गाउँपालिकामा प्रगति प्रतिवेदन पेश गर्नुपर्ने, हरेक आर्थिक वर्षमा अनिवार्य साधारणसभा गर्नुपर्ने र उपभोक्ता संस्थाको नियमित नवीकरण गर्नुपर्ने व्यवस्था घोषणापत्रमा समेटिएको छ ।

घोषणापत्रमा गाउँपालिकाका सबै नागरिकलाई सुरक्षित र व्यवस्थित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्यसहित आवश्यकता अनुसार पानी शुद्धीकरण तथा क्लोरिनेसन गर्ने, आवश्यक बस्तीमा नयाँ खानेपानी योजना निर्माण गर्ने, गाउँपालिकालाई खानेपानीयुक्त तथा सफा–स्वच्छ क्षेत्र घोषणा गर्ने तयारी गर्ने तथा जलवायु परिवर्तन र विकास निर्माणका कारण पानीका मुहानमा पर्ने असर न्यूनीकरण गर्दै मुहान संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता समेत जनाइएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय, डाँडापराजुलमा सम्पन्न सम्मेलनमा गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसी, उपाध्यक्ष कलावती न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत श्रीसम्सेर रानामगर, वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, खानेपानी बोर्डका पदाधिकारी, उपभोक्ता समितिका प्रतिनिधि तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा अध्यक्ष केसी र उपाध्यक्ष न्यौपानेले गाउँपालिकाभित्र देखिएका खानेपानी व्यवस्थापनका समस्या सुधार गर्दै सबै नागरिकलाई सुरक्षित र नियमित खानेपानी सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । वडा नं. १ देखि ६ सम्मका उपभोक्ता समितिले खानेपानी योजनाको अवस्था प्रस्तुत गरेका थिए। एन–वास (NWASH MIS) प्रणालीमा रहेको विवरण र उपभोक्ता समितिबाट पेश गरिएको तथ्यांकबीच केही योजनाको संख्यामा फरक देखिएकाले त्यसलाई यथाशीघ्र सच्याइने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीसम्सेर रानामगरले वास (WASH) को एकीकृत नीति तयार गरी त्यसलाई खानेपानी व्यवस्थापन बोर्ड ऐनसँग जोडेर कार्यान्वयन गरिने जानकारी दिए ।

नवनिर्मित डुङ्गेश्वर खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष निरोज न्यौपानेले सबै वडासँग नियमित समन्वय गर्दै प्रत्येक वर्ष साधारणसभा आयोजना गर्ने र योजनाको दिगोपनाका मापदण्डअनुसार अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाइने बताए ।

गाउँपालिकामा हाल ८५ वटा खानेपानी योजना NWASH MIS मा दर्ता भएका छन्। तीमध्ये ६० योजनाको प्रगति स्कोर ७० प्रतिशतभन्दा माथि, ८ योजनाको स्कोर ६० देखि ७० प्रतिशत तथा १७ योजनाको स्कोर ६० प्रतिशतभन्दा कम रहेको छ । यस्तै, पूर्ण रूपमा दिगो मानिएका योजना २५ वटा मात्रै रहेको तथ्याङ्क सम्मेलनमा प्रस्तुत गरिएको थियो ।

सम्मेलनको अवसरमा ९० प्रतिशतभन्दा बढी सुचारुपना कायम राख्न सफल चार वटा खानेपानी उपभोक्ता समितिलाई नगदसहित सम्मान गरिएको थियो । प्रथम हुने समितिलाई ४० हजार रुपैयाँ, द्वितीयलाई ३५ हजार रुपैयाँ, तृतीयलाई २५ हजार रुपैयाँ र सान्त्वना प्राप्त समितिलाई २० हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको  छ ।

तपाईको प्रतिक्रिया