दोस्रो सुचारुपना सम्मेलन सम्पन्न : खानेपानी योजनाको दिगोपनाका लागि साझा प्रतिबद्धता

दैलेख, दुल्लु। दुल्लु नगरपालिकाले सुरु गरेको “खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना सम्मेलन” को दोस्रो संस्करण सम्पन्न भएको छ। “दिगोपनाका लागि जवाफदेहिता, सुचारुपनाका लागि साझेदारी” भन्ने मूल नारासहित आयोजित सम्मेलनले खानेपानी योजनाको अवस्था, चुनौती र समाधानका विषयमा सामूहिक समीक्षा गर्दै आगामी वर्षका लागि साझा प्रतिबद्धता तय गरेको छ।

दुल्लु नगरपालिका र दुल्लु खानेपानी व्यवस्थापन बोर्डको संयुक्त आयोजनामा तथा हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग र एभरेष्ट क्लब नेपालको सामाजिक सहजीकरणमा सम्पन्न सम्मेलनलाई तीन चरणमा सञ्चालन गरिएको थियो।पहिलो चरणमा खानेपानी योजनाको समग्र तथा वडागत अवस्था प्रस्तुत गरिएको थियो भने दोस्रो चरणमा सरोकारवालाबीच प्यानल छलफल सञ्चालन गरियो। तेस्रो चरणमा उत्कृष्ट कार्यसम्पादन गर्ने उपभोक्ता समितिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

सम्मेलनमा नगरपालिकाभित्र सञ्चालित १०० वटा खानेपानी योजनाको अवस्था समीक्षा गरिएको थियो। १३ वटै वडाबाट वडास्तरीय बोर्ड समितिका प्रतिनिधिहरूले आफ्नो वडाका खानेपानी योजना, घरधुरी तथा धारा वितरण, सेवा अवस्था, समस्या, चुनौती र आवश्यकताबारे प्रस्तुति दिएका थिए। 

दुल्लु खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक हिमाल आचार्यले खानेपानी योजनाको समग्र अवस्था तथा सुचारुपनासम्बन्धी तथ्याङ्क प्रस्तुत गरेका थिए ।  सम्मेलनमा प्रस्तुत तथ्याङ्क अनुसार दुल्लु नगरपालिकामा हाल १०० वटा खानेपानी योजना सञ्चालनमा रहेका छन्। तथ्यांक अनुसार ७०% योजना (७० वटा) राम्रो सञ्चालन अवस्थामा (७०% भन्दा माथि) छन् । २% योजना (२ वटा) मध्यम अवस्थामा (६०–७०%) छन् । २८% योजना (२८ वटा) कमजोर अवस्थामा (६०% भन्दा कम) अवस्थाका रहेका छन् । ती योजनामार्फत ३,६५८ वटा धाराबाट ४,७६० घरधुरीका २४ हजार ९४१ जना लाभान्वित भइरहेका छन्। NWASH MIS का आधारमा गरिएको सुचारुपना मूल्याङ्कनले केही योजनाले ९० प्रतिशतभन्दा बढी सुचारुपना कायम

 गरेका छन् भने केही योजना ३१ प्रतिशत सम्मको अवस्थामा रहेको देखाएको छ। 

 हेल्भेटास नेपालका सुशासन विज्ञ अक्कल शाहले खानेपानी सेवाको सुधार, दिगोपना र साझेदारीको आवश्यकताबारे धारणा राख्दै हेल्भेटासले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सम्मेलनमा दुल्लु नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, १३ वटै वडाका वडाध्यक्ष, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, संघीय र प्रदेश सरकारका सरोकारवाला निकाय, विकास साझेदार संस्था तथा सबै खानेपानी योजनाका उपभोक्ता समितिका २ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो।

सम्मेलनले पहिलो सुचारुपना सम्मेलनबाट जारी गरिएको साझा घोषणापत्रलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। 

प्यानल छलफलमा समाधानमुखी प्रतिबद्धता

दोस्रो चरणमा तथ्यांक, आयोजनाको अवस्थ र अबको योजनासहित प्यानल छलफल गरिएको थियो । 

प्यानल छलफलमा नगरप्रमुख भरतप्रसाद रिजालले सुचारुपना सम्मेलनले खानेपानी योजनाका वास्तविक अवस्था उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अब नगरपालिकाले सबै योजनालाई व्यवस्थित र दिगो बनाउने गरी काम गर्ने बताए। उनले NWASH MIS प्रणालीमा अझै समावेश हुन नसकेका मुहान, धारा तथा खानेपानी योजनालाई अभिलेखीकरण गरिने र आवश्यकता अनुसार नयाँ नीति तथा कार्यक्रम ल्याइने जानकारी दिए। नगरपालिकाको दीर्घकालीन लक्ष्य एक घरएक धारा रहेको उल्लेख गर्दै आगामी सुचारुपना सम्मेलनमा उक्त लक्ष्यतर्फ उल्लेखनीय प्रगति हासिल भएको घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे।

दुल्लु खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भागवत हमालले सबै उपभोक्ता समिति र उपभोक्तासँग साझेदारी तथा साझा जवाफदेहिताका आधारमा काम गर्ने प्रतिबद्धता जनाउँदै सम्मेलनमार्फत प्राप्त सुझाव तथा समाधानका मागहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताए।

प्रमुख प्रशासकीय अधिकृत पदम बुढाले जोखिममा रहेका खानेपानी योजनालाई सुचारु अवस्थामा ल्याउन नयाँ कार्यविधि र व्यवस्थापन प्रणाली अवलम्बन गरिने बताए। सामाजिक विकास समितिका सभापति लिलाराम लम्साल ले खानेपानी योजनाको नियमित अनुगमन र निगरानीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उपभोक्ता समितिका प्रतिनिधि मधु प्रसाद उपाध्यायले खानेपानी सेवा दिगो बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता, नियमित मर्मतसम्भार र उपभोक्ताको उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण रहेको धारणा राखे। प्यानल छलफलको सहजीकरण पत्रकार गोविन्द खड्काले गरेका थिए ।

उत्कृष्ट समितिलाई नगदसहित सम्मान

कार्यक्रममा ९० प्रतिशतभन्दा बढी सुचारुपना कायम राख्न सफल खानेपानी उपभोक्ता समितिहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। प्रथम हुने समितिलाई ४० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ, तृतीयलाई २५ हजार रुपैयाँ तथा चतुर्थलाई २० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको दुल्लु खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ।

दुल्लु नगरपालिकाले सुरु गरेको सुचारुपना सम्मेलन खानेपानी योजनाको नियमित समीक्षा, सार्वजनिक जवाफदेहिता र साझा प्रतिबद्धताको अभ्यासका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, खानेपानी व्यवस्थापन बोर्ड, उपभोक्ता समिति र विकास साझेदार संस्थाहरूलाई एउटै मञ्चमा ल्याएर तथ्यका आधारमा समस्या पहिचान गर्ने, समाधानका उपाय तय गर्ने र आगामी वर्षका लागि स्पष्ट प्रतिबद्धता सार्वजनिक गर्ने यो अभ्यासले खानेपानी योजनाको दिगोपना सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्मेलनमा प्रस्तुत विश्लेषणले योजना सञ्चालन, नियमित मर्मतसम्भार, महसुल संकलन, संस्थागत व्यवस्थापन र उपभोक्ताको सहभागितामा सुधार भएका योजनाको सुचारुपना उच्च रहेको, जबकि प्राविधिक, व्यवस्थापकीय तथा वित्तीय कमजोरी भएका योजनामा कार्यसम्पादन कमजोर देखिएको थियो । 

तपाईको प्रतिक्रिया