मुख्यमन्त्री शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेशसभाको आज बस्ने बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ।

नेकपा (एमाले) को समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव सोमबार प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन्।

मुख्यमन्त्री नियुक्त भएको केही समय बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्दा शाही हाल एक सदस्यीय मन्त्रिपरिषद्सहित सरकार सञ्चालन गरिरहेका छन्। नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँडबारे सहमति जुट्न समय लागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताइएको छ।

मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएपछि तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताएका छन्। सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबन्डा र सरकार सञ्चालनका विषयमा छलफल जारी रहेको बताइएको छ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १४ र एमालेका १० सांसद छन्। यी दुई दलका मात्रै २४ सांसद रहेकाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत पुग्ने अवस्था देखिएको छ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउने विषयमा सत्ता गठबन्धनमा रहेका दुई दलबीच छलफल भइरहेको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया