मधेसको असन्तुष्टिप्रति अमरेश सिंहको चेतावनी, ‘छठपछि रास्वपा सांसदले जनआक्रोश सामना गर्न सक्छन्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मधेसमा पछिल्लो समय बढिरहेको असन्तुष्टिलाई बेवास्ता गरे पार्टीका सांसदहरूले जनताको आक्रोश सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

बुधबार पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आयोजना गरिएको पार्टीका नेता, सांसद तथा मन्त्रीहरूको छलफलमा सिंहले मधेसको पछिल्लो अवस्थाबारे धारणा राखेका थिए।

उनका अनुसार सीमावर्ती क्षेत्रमा सरकारले लागू गरेको कडाइका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भइरहेको छ। विशेषगरी भारतबाट व्यक्तिगत प्रयोजनका लागि सामान ल्याउने विषयमा गरिएको कडाइले मधेसका नागरिकमा असन्तुष्टि बढेको उनको भनाइ थियो।

सरकारले सीमाबाट ल्याइने सामानमा निश्चित सीमासम्म भन्सार छुटको व्यवस्था गरेको भए पनि तोकिएको रकमभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क असुल्न थालेपछि मधेसमा विरोध भएको थियो। उक्त व्यवस्थाको कार्यान्वयनलाई लिएर विवाद बढ्दै गएपछि विषय सर्वोच्च अदालतसम्म पुगेको थियो।

यससम्बन्धी रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सर्वसाधारणसँग सम्मानजनक व्यवहार गर्न अन्तरिम आदेशसमेत दिएको थियो। भन्सारसम्बन्धी व्यवस्थाका कारण नागरिकलाई समस्या परेको भन्दै विरोध चर्किएपछि सरकारले पछिल्लो समय त्यसमा केही लचकता अपनाएको छ।

बैठकमा सिंहले सरकारका पछिल्ला निर्णय र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले विभिन्न क्षेत्रमा कमजोरी गरिरहेको दाबी गरेका थिए। उनले आफूलाई केही समय उपलब्ध गराए सरकारका धेरै कमजोरी र गल्ती सार्वजनिक गर्न सक्ने बताएका थिए।

स्रोतका अनुसार सिंहले मधेसमा रास्वपाप्रतिको असन्तुष्टि पनि बढ्न सक्ने संकेत गर्दै छठ पर्वपछि पार्टीका सांसदहरूले जनताको आक्रोश प्रत्यक्ष रूपमा सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए।

तपाईको प्रतिक्रिया