सांसद शाहीको आरोप : ‘सरकारबाट राज्य शक्ति दुरुपयोग, तीनकुने घटनामा मानव अधिकार उल्लंघन’

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले राज्य शक्तिको अत्यधिक प्रयोग गरी मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले राजधानीको तीनकुनेमा भएको घटनालाई उदाहरण दिँदै मानव अधिकारको गम्भीर उल्लंघन भएको दाबी गरे।

“सरकारले राज्य आतंक अत्याधिक रूपमा प्रयोग गरिरहेको छ,” शाहीले भने, “४० दिनदेखि रविन्द्र मिश्रसहितका साथीहरू हिरासतमा छन्, जुन लोकतान्त्रिक मुलुकमा स्वीकार्य छैन।”

उनले पोखरामा बेलुन पड्किँदा सरकारले छानबिन समिति गठन गरेको उल्लेख गर्दै, तीनकुनेमा गोली लागि ज्यान गुमाएका सविन महर्जनको घटनामा भने राज्य मौन बसेकोप्रति प्रश्न उठाए।

“न्यायिक छानबिन समिति तुरुन्त गठन हुनुपर्छ,” उनले भने। साथै, उनले कानुनी प्रक्रिया बाहिर गएर बल प्रयोग गर्ने अधिकार राज्यका निकायलाई कसरी दिइएको हो भन्ने प्रश्न पनि उठाए।

शाहीले राज्य र सरकारप्रति जनताले उठाएका प्रश्नहरूको जवाफ दिन आग्रह गर्दै घटना सम्बन्धी निष्पक्ष छानबिनको माग गरे।

तपाईको प्रतिक्रिया