एमालेलाई गाली नगरी माओवादी र रास्वपाको राजनीति चल्दैन :नेकपा (एमाले) का उपमहासचिव ज्ञवालीको आरोप

भक्तपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय एमालेविरुद्ध विभिन्न दलहरू मिलेर संगठित रुपमा आक्रमण गरिरहेको आरोप लगाएका छन्। शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशस्तरीय कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राजावादी धारका समूहहरू एमालेको आलोचना नगरी आफ्नो अस्तित्व जोगाउन नसक्ने स्थितिमा पुगेको टिप्पणी गरे।

‘अहिले एमाले र यसको नेतृत्वविरुद्ध बोलेर मात्रै ती दलहरूको राजनीति चलिरहेको छ,’ ज्ञवालीले भने, ‘एमाले गणतन्त्रको पक्षमा दृढ छ, त्यसैले राजावादीहरू हाम्रो विपक्षमा छन्। माओवादीले ३२ सिटको चमत्कार देखाउन नसकेपछि सरकार सञ्चालन गर्न सक्ने सम्भावना देखेन र अहिले विरोधमा उत्रिएको छ। रास्वपाका लागि पुराना दललाई गाली नगरी अगाडि बढ्न गाह्रो भएको छ।’

उनका अनुसार यी सबै दलहरूको आलोचनाको केन्द्रमा एमाले रहँदा पार्टीले योजनाबद्ध ढंगले आगामी कदम चालेर अघि बढ्नुपर्ने अवस्था आएको छ।

ज्ञवालीले विगतका निर्वाचनहरूमा चारैतर्फबाट घेराबन्दी भए पनि एमाले जनसमर्थनका आधारमा सत्ता नजिक पुग्न सफल भएको दाबी गरे। उनले पार्टीका जनप्रतिनिधिको सक्रियता, प्रभावकारी प्रचार, र जनसंगठनहरूको कामकै कारण आगामी दिनमा अझ जनमत बढ्ने विश्वास व्यक्त गरे।

‘देश विकास गर्ने, स्थायित्व र राष्ट्रियताको पक्षमा दृढताका साथ उभिएको शक्ति भनेको एमाले नै हो,’ उनले जोड दिए।

कार्यक्रममा उनले पार्टीको ‘मिशन ८४’ सफल बनाउन कार्यकर्तालाई आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशनसमेत दिए। दुईदिने कार्यशालामा बागमती प्रदेशस्तरीय १०१ सदस्यीय प्रचार सञ्जाल गठन गरिएको जानकारी प्रदेश उपसचिव तथा प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले दिइन्।

तपाईको प्रतिक्रिया