गृहमन्त्रीमाथि उठेको प्रश्नमा राजनीतिक हस्तक्षेप अनुचित, अख्तियारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रमेश लेखकसम्बन्धी प्रकरणमा राजनीतिक हस्तक्षेप गर्नु उपयुक्त नहुने बताएका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले कानुनी प्रक्रिया स्वतन्त्र रूपमा अघि बढ्न दिनु लोकतन्त्रको मूल आधार भएको उल्लेख गरे।

‘गृहमन्त्रीसम्बन्धी उठेका विषयहरूबारे राजनीतिक हस्तक्षेप गर्नु अनुचित हुन्छ,’ उनले भने, ‘अख्तियारजस्ता संवैधानिक निकायलाई कानुन बमोजिम काम गर्न दिँदा नै लोकतन्त्र बलियो हुन्छ।’

थापाले हालको घटनाले कानुनी प्रणालीमा सुधारको खाँचो देखिएको भन्दै अख्तियार र अन्य अनुसन्धान निकायको संरचना, अधिकार र प्रक्रियामा पुनरावलोकन आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

त्यसैगरी, पार्टीको १५औं महाधिवेशनको सन्दर्भमा बोल्दै उनले अहिले त्यसबारे सोच्ने समय नभएको बताए। ‘१४औं महाधिवेशनमा पार्टीले मलाई दिएको जिम्मेवारीमा केन्द्रित छु,’ उनले स्पष्ट पारे।

महामन्त्री थापा लोकतान्त्रिक याक्थुङ संघको अधिवेशनमा सहभागी हुन धरान आएका थिए।

तपाईको प्रतिक्रिया