शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउन माओवादीलाई एमाले सांसद गैरेको सुझाव

काठमाडौं, वैशाख १७ — नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता परिवर्तनको माध्यम नबनाउन माओवादी केन्द्रलाई सुझाव दिएका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गैरेले पेशागत आन्दोलनको आडमा सरकारलाई अप्ठ्यारोमा पार्ने, सत्तालाई अस्थिर बनाउने र त्यसैबाट प्रधानमन्त्री बन्ने असफल प्रयास अब अन्त्य हुनुपर्ने बताए।

उनले भने, “छलफलमा एउटा कुरा गर्ने तर सडकमा गएर अर्कै व्यवहार देखाउने प्रवृत्तिले नेपालको शिक्षा सुधार सम्भव छैन।”

गैरेले विद्यालय शिक्षा विधेयक अघि नबढ्नुमा सबै पक्ष जिम्मेवार रहेको उल्लेख गर्दै दोष केवल सत्तापक्षलाई मात्र थोपर्न नमिल्ने तर्क गरे। उनले सडकमा शिक्षक र सुरक्षाकर्मीबीच झडप गराउने प्रवृत्ति पनि अस्वीकार्य भएको बताए।

उनको भनाइमा, अहिले समितिमा विचाराधीन रहेको विधेयकलाई पारित गर्न सर्वदलीय सहमति र सामूहिक प्रतिवद्धता अपरिहार्य छ।

तपाईको प्रतिक्रिया