भोटेकोशीमा फेरि बढ्यो पानीको बहाव, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्न थालेपछि नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी नदीमा आज पानीको बहाव बढेको जानकारी प्राप्त भएको हो। यसअघि ठूलो बाढी प्रभावित क्षेत्रमा पुनः बाढीको जोखिम देखिएकाले नदी किनारमा रहेका सर्वसाधारण तथा उद्धार र राहत कार्यमा संलग्न टोलीलाई विशेष सावधानी अपनाउन भनिएको छ।

भोटेकोशीसँगै त्रिशूली नदी आसपासका क्षेत्रमा पनि थप बाढी आउन सक्ने सम्भावना रहेकाले जोखिमयुक्त स्थानमा रहेका व्यक्तिहरूलाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ।

सम्भावित जोखिमको संकेत देखिएमा ढिलाइ नगरी सुरक्षित स्थानतर्फ जानसमेत प्राधिकरणले आग्रह गरेको छ। नदीको जलस्तर तथा बहावमा हुने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्बन्धित सबैलाई सुझाव दिइएको छ।

स्रोत: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

तपाईको प्रतिक्रिया