प्रहरी हिरासतमा निरन्तर सीसीटीभी राख्न माग, सर्वोच्चमा रिट

काठमाडौं । प्रहरी कार्यालय तथा हिरासत कक्षमा चौबिसै घण्टा सीसीटीभी निगरानीको व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

कानुन अध्ययनरत विवेक चौधरीसहितले बिहीबार रिट दायर गरेका हुन्। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको छ।

रिट निवेदनमा प्रहरी कार्यालय र हिरासत कक्षमा दिनरात निरन्तर निगरानी गर्न सकिने गरी सीसीटीभी क्यामेरा जडानको व्यवस्था गर्न माग गरिएको छ। क्यामेरामा रातको समयमा समेत स्पष्ट दृश्य कैद हुने नाइट भिजन सुविधा हुनुका साथै अडियो र भिडियो दुवै रेकर्ड गर्न सक्ने प्रविधि प्रयोग गर्नुपर्ने माग गरिएको छ।

त्यसैगरी, हिरासतमा भएका गतिविधिसम्बन्धी सम्भावित प्रमाण सुरक्षित राख्न सीसीटीभी फुटेज लामो समयसम्म संरक्षण गर्ने कानुनी व्यवस्था गर्न पनि माग गरिएको छ। रिटमा कम्तीमा एकदेखि डेढ वर्षसम्म फुटेज सुरक्षित रहने व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी गर्न माग गरिएको छ।

तपाईको प्रतिक्रिया