शौचालयदेखि सभ्य समाजसम्मको यात्रा, लहानको स्वच्छता अभियानले कोर्दैछ परिवर्तनको बाटो

लहान । सरसफाइलाई केवल नारामा सीमित नराखी नागरिकको व्यवहार र जीवनशैलीसँग जोड्ने उद्देश्यसहित लहान नगरपालिकाले सञ्चालन गरेको ‘घर–घरको शान, स्वच्छता अभियान’ प्रभावकारी बन्दै गएको छ। अभियानअन्तर्गत सडक नाटक र र्‍यालीमार्फत कलाकारहरूले टोल–टोलमा पुगेर स्वच्छताको सन्देश प्रवाह गरिरहेका छन्।

लहान नगरपालिका–३ स्थित बिहारपुर टोलमा बुधबार आयोजित जनचेतनामूलक सडक नाटक तथा स्वच्छता र्‍यालीले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। कार्यक्रममा स्थानीय युवा, महिला, बालबालिका तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

कलाकारहरूले प्रस्तुत गरेको सडक नाटकमार्फत शौचालयको नियमित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरण संरक्षण र स्वस्थ जीवनशैलीको महत्वबारे सन्देश दिइएको थियो। मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको नाटकले सरसफाइलाई दैनिक व्यवहारको हिस्सा बनाउनुपर्ने सन्देश दिएको थियो।

‘शौचालय हाम्रो सभ्यताको इज्जत हो’, ‘स्वच्छता अपनाऔँ, बिरामी हटाऔँ’ लगायतका नारासहित सहभागीहरूले बिहारपुर क्षेत्रको परिक्रमा गर्दै स्वच्छताको सन्देश फैलाएका थिए।

सडक नाटकमा शौचालयलाई केवल भौतिक संरचनाका रूपमा नभई स्वास्थ्य, आत्मसम्मान र सभ्य समाज निर्माणको आधारका रूपमा प्रस्तुत गरिएको थियो। कलाकारहरूले स्वच्छ वातावरण निर्माणमा प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण रहेको सन्देश दिएका थिए।

लहान नगरपालिकाले अभियानलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी नगरका सबै वडामा नियमित रूपमा सडक नाटक, स्वच्छतार्‍याली तथा अन्य सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले स्वच्छ नगर निर्माणका लागि भौतिक पूर्वाधारसँगै नागरिकको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए।

“स्वच्छता अभियान सरसफाइमा मात्र केन्द्रित कार्यक्रम होइन, यो नागरिकको सोच, बानी र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान हो,” उनले भने।

नगर प्रमुख चौधरीका अनुसार अभियानले शौचालयको नियमित तथा दिगो प्रयोग प्रवर्द्धन गर्नुका साथै व्यक्तिगत र वातावरणीय सरसफाइलाई दैनिक जीवनशैलीको हिस्सा बनाउने लक्ष्य राखेको छ।

नगरपालिकाले आगामी दिनमा पनि सिर्जनात्मक माध्यममार्फत स्वच्छताको सन्देश समुदायस्तरसम्म पुर्‍याउँदै अभियानलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया