प्रधानमन्त्री बालेन शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच शिष्टाचार भेट

काठमाडौं, प्रधानमन्त्री बालेन शाह र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेट शिष्टाचारमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त समर्थन र सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले पछिल्लो विपद्बाट नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन्। जलवायु परिवर्तनको प्रभावका कारण यस्ता विपद्को चुनौती सामना गर्नुपरेको भन्दै उनले जलवायुजन्य जोखिम न्यूनीकरण र विपद्का असर सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई अझ बलियो बनाउनुपर्ने धारणा राखेका छन्।

त्यस क्रममा नेपालको पर्यटन क्षेत्रमा रहेको सम्भावनाबारे पनि छलफल भएको थियो। पर्यटन विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभका अवसर विस्तार गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालमा अमेरिकी लगानीलाई स्वागत गर्ने बताएका छन्।

भेटमा कार्यवाहक अमेरिकी राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेकी छन्।

बोल्डिनले विपद्को यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएकी छन्। उनले राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग तथा सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको जानकारी गराएकी छन्।

तपाईको प्रतिक्रिया