स्थानीय अवरोधले त्रिशूली–स्याफ्रुबेँसी सडक पुनः सञ्चालनमा चुनौती

काठमाडौँ । वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा ल्याउन सडक विभागले तीव्र रूपमा काम अघि बढाए पनि स्थानीयको अवरोध र कठिन भौगोलिक अवस्थाका कारण चुनौती थपिएको छ।

सडकको पुरानो मार्गमा ठूलो मात्रामा लेदो तथा गेग्रान थुप्रिएपछि तत्काल सफा गरेर सडक सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको छ। त्यसलाई ध्यानमा राख्दै विभागले केही स्थानमा वैकल्पिक मार्ग प्रयोग गरेर अस्थायी ट्र्याक खोल्ने प्रयास गरिरहेको छ।

तर, गल्छी–त्रिशूली–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० मा स्थानीय बासिन्दाले आफ्नो जग्गा तथा खेतीयोग्य जमिन प्रयोग गरेबापत मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेपछि वैकल्पिक ट्र्याक निर्माणको काम प्रभावित भएको छ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पुरानो सडकमा करिब ३ देखि ४ मिटरसम्म लेदो र गेग्रान जम्मा भएको छ। उक्त सामग्री हटाएर सडक खुलाउन लामो समय लाग्न सक्ने भएकाले तत्कालका लागि खेत हुँदै वैकल्पिक बाटो निर्माण गर्ने योजना बनाइएको थियो।

विभागले प्रयोग गरिने खेतलाई काम सकिएपछि पूर्ववत् अवस्थामा फर्काउने प्रतिबद्धता जनाए पनि स्थानीयले मुआब्जा नपाएसम्म निर्माण कार्य अघि बढाउन नदिने अडान राखेका छन्।

विवाद समाधानका लागि स्थानीय तह, वडा कार्यालय र जिल्ला प्रशासनसँग समन्वय भइरहेको विभागले जनाएको छ। स्थानीय अवरोध हटेमा करिब दुई दिनभित्र बेत्रावतीसम्म सडक पहुँच स्थापित गर्न सकिने विभागको अनुमान छ।

यसैबीच, सडक पुनः सञ्चालन गर्ने क्रममा बेनीघाट क्षेत्रमा नेपाली सेनाले बेलिब्रिज जडानको काम सुरु गरेको छ। पुल निर्माणसँग सम्बन्धित सिभिल इन्जिनियरिङतर्फको काम भने सडक विभागले सम्हालिरहेको छ।

बेत्रावती क्षेत्रमा खोला पार गर्न बेलिब्रिज राख्ने वा अस्थायी डाइभर्सन निर्माण गर्ने विकल्पमाथि पनि अध्ययन भइरहेको छ। बेत्रावतीसम्म सडक सञ्चालनमा आएपछि धुन्चेसहित माथिल्लो क्षेत्रतर्फको आवागमन थप सहज हुने सडक विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया