गोरखामा लेदोसहितको बाढीको वितण्डा, तीन घर बगे; जलविद्युत् आयोजनामा क्षति

गोरखा — चुमनुब्री गाउँपालिकाको वडा नम्बर २ र ४ को सीमाबाट बग्ने थोराङ खोलामा आएको लेदोसहितको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। आइतबार बिहान करिब साढे ३ बजे आएको बाढीले तीनवटा घर पूर्ण रूपमा बगाएको छ भने अर्को एक घरमा क्षति पुगेको छ।

चुमनुब्री–४ नाम्रुङका वडाध्यक्ष पेमा ग्याल्पो लामाका अनुसार बाढीका कारण १०० किलोवाट क्षमताको नाम्रुङ–थोराङखोला लघुजलविद्युत् आयोजना र एउटा झोलुंगे पुलमा समेत क्षति पुगेको छ।

करिब ७ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजनाबाट स्थानीय ४० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए। बाढीले आयोजनाको ड्याममा क्षति पुर्‍याउनुका साथै अन्य संरचनामा समेत असर गरेको वडाध्यक्ष लामाले बताए।

यसैगरी, निर्माण सम्पन्न भइनसकेको १५ किलोवाट क्षमताको अर्को जलविद्युत् आयोजनामा पनि बाढीले केही क्षति पुर्‍याएको जनाइएको छ।

बाढीका कारण नाम्रुङका नुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घटनामा हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहानतर्फ केही समय पानी तथा लेदो थुनिएपछि एक्कासि लेदोसहितको बाढी आएको प्रारम्भिक जानकारी छ।

थोराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बाढीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया