डीडीसीले दुबईमा घिउको बजार विस्तार गर्दै, ६ सय किलो निर्यात

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो घिउको बजार विदेशमा विस्तार गर्ने क्रममा दुबईमा निर्यात सुरु गरेको छ। दुबईमा रहेका नेपाली उपभोक्तालाई लक्षित गर्दै संस्थानले पहिलो चरणमा घिउ पठाउन थालेको हो।

डीडीसीका अनुसार शुक्रबार पहिलो खेपका रूपमा ६ सय किलो घिउ हवाईमार्गबाट दुबई पठाउने तयारी गरिएको छ। दुबईमा उत्पादन बिक्रीका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सहकार्य गरेको जनाएको छ।

संस्थानका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार सुरुमा दुबईका बजारमा उत्पादनको परीक्षण बिक्री गरिनेछ। त्यसबाट प्राप्त माग र बजारको प्रतिक्रियाका आधारमा आगामी दिनमा निर्यातको मात्रा बढाइने योजना छ।

नेपाली उत्पादनलाई दुबईको बजारमा परिचित गराउने उद्देश्यले पहिलो खेप हवाईमार्गबाट पठाइएको हो। त्यसपछि भने लागत तथा ढुवानी व्यवस्थालाई ध्यानमा राख्दै भारत हुँदै कन्टेनरमार्फत घिउ पठाउने तयारी गरिएको संस्थानले जनाएको छ।

डीडीसीले दुबईसँगै मध्यपूर्वका अन्य मुलुकमा समेत घिउलगायत आफ्ना अन्य दुग्धजन्य उत्पादनको बजार विस्तार गर्ने योजना अघि सारेको छ। संस्थानका अनुसार आगामी दिनमा ती मुलुकमा पनि नेपाली दुग्ध उत्पादनको बिक्री तथा निर्यात विस्तार गर्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया