लहानमा प्रभावकारी बन्दै “घर–घरको शान, स्वच्छता अभियान”

लहान । लहान नगरपालिकाले सञ्चालन गरिरहेको ‘घर–घरको शान, स्वच्छता अभियान’लाई समुदायस्तर सम्म पुर्‍याउने क्रममा वडा नं. २२ को सिसौनी र पतेरवा क्षेत्रमा बिहीबार सडक नाटक तथा स्वच्छता र्‍याली आयोजना गरिएको छ। कार्यक्रममा शौचालयको नियमित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरण संरक्षण र स्वस्थ जीवनशैलीका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

स्थानीय युवा, महिला, बालबालिका तथा सर्वसाधारणको सहभागितामा निकालिएको स्वच्छता र्‍यालीले वडा नं. २२ का सिसौनी र पतेरवा क्षेत्रका विभिन्न स्थानको परिक्रमा गरेको थियो। सहभागीहरूले स्वच्छता र जनस्वास्थ्यसम्बन्धी सचेतनामूलक नारामार्फत सरसफाइलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन तथा आफ्नो समुदायप्रति जिम्मेवार बन्न आह्वान गरेका थिए।

र्‍यालीपछि प्रस्तुत गरिएको सडक नाटकले सरसफाइसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यवहारिक विषयलाई स्थानीय परिवेशमा आधारित कथावस्तु, संवाद र अभिनयमार्फत प्रस्तुत गरेको थियो। नाटकमा शौचालयको नियमित प्रयोग, व्यक्तिगत स्वच्छता, वातावरण संरक्षण तथा खुला दिसामुक्त अवस्थाको दिगोपनाका विषयलाई प्रभावकारी रूपमा उठाइएको थियो।

प्रस्तुतिले शौचालयलाई स्वास्थ्य र सरसफाइको साधनमा मात्र सीमित नराखी व्यक्तिको आत्मसम्मान, सामाजिक मर्यादा र सभ्य जीवनसँग जोडिएको आधारभूत आवश्यकताका रूपमा स्थापित गर्ने सन्देश दिएको थियो। साथै, स्वच्छता कायम गर्ने जिम्मेवारी व्यक्ति वा परिवारमा मात्र नभई समग्र समुदायको साझा दायित्व भएको विषयमा जोड दिइएको थियो।

कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सडक नाटकजस्ता सिर्जनात्मक माध्यमबाट प्रस्तुत गरिने सन्देश स्थानीय समुदायका विभिन्न वर्गसम्म सहज, प्रभावकारी र प्रत्यक्ष रूपमा पुर्‍याउन सकिने बताएका थिए।

लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले ‘घर–घरको शान, स्वच्छता अभियान’लाई फोहोर व्यवस्थापन र सरसफाइमा मात्र सीमित नराखी नागरिकको सोच तथा व्यवहारमा दीर्घकालीन परिवर्तन ल्याउने उद्देश्यका साथ अघि बढाइएको बताए।

उनले स्वच्छ तथा स्वस्थ नगर निर्माणका लागि भौतिक पूर्वाधार विकाससँगै नागरिकस्तरमा जनचेतना अभिवृद्धि र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। अभियानले शौचालयको नियमित तथा दिगो प्रयोगलाई प्रोत्साहन गर्नुका साथै व्यक्तिगत र वातावरणीय सरसफाइलाई दैनिक जीवनशैलीमा स्थापित गर्ने लक्ष्य लिएको उनले बताए।

नगरपालिकाका अनुसार अभियानअन्तर्गत आगामी दिनमा पनि विभिन्न वडा तथा टोलमा सडक नाटक, स्वच्छता र्‍याली, अन्तरक्रिया तथा अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। नागरिकको सहभागिता र समुदायसँगको सहकार्यलाई केन्द्रमा राख्दै स्वच्छ, स्वस्थ तथा व्यवस्थित लहान निर्माणको अभियानलाई थप प्रभावकारी बनाउने नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया