कोर्रा लगाउने कानुन बनाउन हर्क साम्पाङको प्रस्ताव

काठमाडौं — श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले धार्मिक स्थलमा तोडफोड तथा आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न ‘कोर्रा लगाउने’ कानुन बनाउन प्रस्ताव गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै साम्पाङले पछिल्लो समय मस्जिद, मदरसा, गुम्बा, मन्दिर तथा माङखिमलगायत धार्मिक स्थलमा भएका तोडफोड र आगजनीका घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने बताए।

‘भर्खरै देशमा थुप्रै मस्जिदमा आगो लगाइयो। मदरसामा आगो लगाइयो। कहिले गुम्बा तोडिन्छन्, मन्दिर भत्काइन्छन्। कहिले माङखिम तोडिन्छन्,’ उनले भने, ‘सरकार कमजोर भएका कारण त्यो हुन्छ। सरकारले कारबाही नै गर्न सक्दैन।’

साम्पाङले अपराधमा संलग्न व्यक्तिलाई प्रभावकारी रूपमा कारबाही गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताए।

‘मेरो–तेरो नभनी फटाहाहरूलाई कर्‍याप–झ्याप पारेर हानौँ न, कोर्रै कोर्राले। त्यस्तो कानुन बनाऊँ। यही हो कानुन बनाउने ठाउँ,’ उनले भने।

उनले मुलुकमा विद्यमान बेथिति अन्त्य गर्नुपर्ने विषय पनि उठाए। भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने विषयमा सरकार र स्थानीय तहले प्रभावकारी रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो।

‘पुस्तौँ पुस्तादेखि यही देशमा बसेको मान्छेको स्वामित्व छैन। अहिले भूमि सुधार व्यवस्था मन्त्रीले स्थानीय तहले गर्न दिएनन् भन्नुहुन्छ,’ साम्पाङले भने, ‘धनीपुर्जा दिन कुन स्थानीय तहले रोक्छ? हामी छौँ। सुकुम्बासीले धनीपुर्जा पाएन भन्नेमा नाटक गरेको छ, गीत गाएको छ। दिनुहोस्, भकाभक दिनुहोस्।’

साम्पाङले राजनीतिक दलहरूले भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने विषयमा अवरोध नगरेको दाबीसमेत गरे।

साम्पाङको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले नियमापत्ति जनाइन्। उनले ‘कोर्रा लगाउने’ अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यस्तो भाषा प्रयोग नगर्न आग्रह गरिन्।

‘कोर्रा लगाउने, यातना दिनुहुन्न भन्ने कानुन ल्याउने व्यक्तिमा म पर्छु। वर्षौँ एडभोकेसी गरेको हो। जनतालाई कोर्रा लगाउने उपयुक्त शब्द भएन। ती शब्द सुधार्नुपर्‍यो,’ रानामगरले भनिन्।

उनले साम्पाङको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनसमेत अनुरोध गरिन्।

तपाईको प्रतिक्रिया