आज र भोलि वर्षा सक्रिय रहने , गण्डकी–वाग्मतीका केही स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । नेपालमा मनसुन अझै औपचारिक रूपमा प्रवेश नगरेको भए पनि यसको आगमनका लागि अनुकूल मौसमीय अवस्था क्रमशः विकसित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन नेपाल भित्रिने सम्भावना देखिए पनि तत्कालै प्रवेश हुने अवस्था भने नरहेको र यसबारे निरन्तर निगरानी भइरहेको छ। उनका अनुसार मनसुन प्रवेशका लागि आवश्यक मापदण्डहरू अझै पूरा भइसकेका छैनन्।

नेपालमा मनसुन सामान्यतया पूर्वी भूभागबाट प्रवेश गरी क्रमशः पश्चिमतर्फ फैलिने गर्छ। हाल मनसुन प्रवेशको सम्भावना विशेषगरी कोसी प्रदेशका केही क्षेत्रमा देखिएको महाशाखाले जनाएको छ।

भारतको मौसम विज्ञान विभागका अनुसार मनसुन हाल सिक्किम, असामलगायत क्षेत्रमा विस्तार भइसकेको छ। सिक्किम नेपालसँग सीमा जोडिएको क्षेत्र भएकाले पूर्वी नेपालमा मनसुन प्रवेशको सम्भावनालाई नजिकबाट हेरिएको छ।

यसैबीच, बिहीबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद् लामिछानेका अनुसार हालको वर्षा पश्चिमी वायु र स्थानीय वायु प्रणालीको प्रभावका कारण भइरहेको हो।

काठमाडौं उपत्यकामा आंशिकदेखि सामान्य बदली रहने तथा दिउँसो र साँझतिर हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको र घाम लाग्ने तथा पुनः बदली हुने क्रम चलिरहन सक्ने उनले बताए।

महाशाखाका अनुसार देशका अधिकांश भूभागमा बदली रहने सम्भावना छ। गण्डकी प्रदेश तथा वाग्मती प्रदेशका केही स्थानमा बिहीबार दिउँसो भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, साँझ तथा रातिको समयमा लुम्बिनी, वाग्मती, मधेस र कोसी प्रदेशका एक–दुई स्थानमा २४ घण्टाको अवधिमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद् लामिछानेले बताएका छन्।

काठमाडौं उपत्यकामा भने मध्यम स्तरसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ र भारी वर्षाको पूर्वानुमान गरिएको छैन।

महाशाखाका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण बिहीबार र शुक्रबार वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहनेछ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि सामाजिक सञ्जालमार्फत आज र भोलिसम्म केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताएका छन्।

नेपालमा मनसुन प्रवेशको औसत मिति जुन १३ रहेको महाशाखाले जनाएको छ। यद्यपि, मौसमीय अवस्थाअनुसार मनसुन औसत मितिभन्दा केही दिन अघि वा पछि पनि प्रवेश गर्न सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया