डीडीसीले किसानलाई अझै ३५ करोड रुपैयाँ दूधको भुक्तानी दिन बाँकी

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले किसानबाट खरिद गरेको दूधको करिब ३५ करोड रुपैयाँ अझै भुक्तानी गर्न बाँकी रहेको सरकारले जनाएको छ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले नेपाली कांग्रेसका सांसद निश्कल राईको प्रश्नको जवाफ दिँदै डीडीसीको बक्यौता रकमबारे जानकारी दिएकी हुन्।

सांसद राईले डीडीसीले कति किसानलाई कति समयदेखि भुक्तानी गर्न बाँकी छ, ढिलाइको कारण के हो र बक्यौता रकम कहिलेसम्म भुक्तानी हुन्छ भन्ने विषयमा सरकारसँग जानकारी मागेका थिए। उनले डीडीसीको आन्तरिक समस्या तथा त्यसको समाधानका लागि सरकारले गरिरहेको कामबारे समेत प्रश्न गरेका थिए।

जवाफमा मन्त्री चौधरीले देशभरका करिब २३५ दुग्ध सहकारी संस्थालाई डीडीसीले दूध खरिदबापतको रकम तिर्न बाँकी रहेको बताइन्। उनका अनुसार भदौ १ गतेसम्म करिब ३५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।

मन्त्री चौधरीले विगतमा दूध बिक्री तथा मौज्दातको उचित व्यवस्थापन हुन नसक्दा डीडीसी लगातार आर्थिक समस्यामा परेको उल्लेख गरिन्। उनका अनुसार संस्थान पछिल्लो १० वर्षदेखि घाटामा रहेकाले आर्थिक दायित्व र खर्चको भार बढ्दै गएको छ।

यद्यपि, चालु वर्षको वैशाख २० देखि भदौ १ गतेसम्म डीडीसीले किसानलाई ६० करोड रुपैयाँ भुक्तानी गरिसकेको मन्त्री चौधरीले जानकारी दिइन्।

भदौ १ गतेसम्म डीडीसीसँग १५० मेट्रिक टन दूध पाउडर, १३० मेट्रिक टन नौनी तथा करिब २४ करोड रुपैयाँ बराबरको अन्य मौज्दात रहेको उनले बताइन्।

मन्त्री चौधरीले डीडीसीको समस्याका कारण अत्यधिक दूध प्रशोधन, उत्पादन लागत, प्रशासनिक खर्च, कमजोर नेतृत्व र पुरानो संरचनालाई पनि औंल्याइन्। विगतमा प्रशासनिक खर्चलाई प्राथमिकता दिँदा किसानले १० महिनासम्म दूधको रकम नपाएको अवस्थासमेत रहेको उनले बताइन्।

यसले संस्थानमा भुक्तानीको थप दबाब सिर्जना भएको र किसानलाई रकम उपलब्ध गराउन ढिलाइ भएको उनको भनाइ छ।

पछिल्ला तीन महिनायता किसानको बक्यौता भुक्तानीलाई डीडीसीले प्राथमिकतामा राखेको मन्त्री चौधरीले जानकारी दिइन्। संस्थानभित्र देखिएका समस्याको दीर्घकालीन समाधानका लागि अध्ययन भइरहेको पनि उनले बताइन्।

तपाईको प्रतिक्रिया