मन्त्रालय भागबन्डामा सहमति नजुट्दा कर्णाली प्रदेश सरकार विस्तार अन्योलमा

सुर्खेत, — कर्णाली प्रदेश सरकार गठनका लागि सत्ता साझेदार नेकपा र नेकपा (एमाले)बीच मन्त्रालयको भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्री नियुक्तिको प्रक्रिया अझै टुंगिन सकेको छैन।

नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। तर, मन्त्रालयको जिम्मेवारी बाँडफाँटमा सहमति नपुगेकाले प्रारम्भिक चरणमा मुख्यमन्त्री शाहीले मात्रै शपथ लिने तयारी भएको बताइएको छ।

कर्णाली प्रदेश सरकारअन्तर्गत हाल सात मन्त्रालय रहेका छन्। तीमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा योजना, सामाजिक विकास, जलस्रोत तथा ऊर्जा विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार तथा सहरी विकास तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय समावेश छन्।

स्रोतका अनुसार, एमालेले मुख्यमन्त्रीसहित तीन मन्त्रालय नेकपाको भागमा रहने र बाँकी चार मन्त्रालय आफूले पाउनुपर्ने प्रस्ताव राखेको छ। यता, नेकपाले भने मुख्यमन्त्रीबाहेकका मन्त्रालय दुवै दलबीच समान रूपमा बाँडफाँट हुनुपर्ने अडान लिएको जनाएको छ।

एमालेका एक नेताले मन्त्रालय बाँडफाँटमा देखिएको मतभेदका कारण सहमति हुन नसकेको बताएका छन्। यद्यपि, दुवै दलबीच यस विषयमा छलफल भने जारी रहेको जनाइएको छ।

समाचार तयार पार्दासम्म मन्त्रालयको अन्तिम भागबन्डाबारे कुनै औपचारिक सहमति भएको सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया