बाल मन्दिर ठगी मुद्दा अदालतमा प्रवेश, पूर्वपदाधिकारीहरूको बयान प्रक्रिया सुरु

काठमाडौं। बाल मन्दिरसँग सम्बन्धित ठगी प्रकरणमा आठ जना तत्कालीन पदाधिकारीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगीको आरोपसहित मुद्दा दायर गरिएको छ। हाल उक्त मुद्दामा प्रतिवादीहरूको बयान लिने प्रक्रिया अघि बढिरहेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा काठमाडौं सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगीसम्बन्धी अभियोग दर्ता गरेको हो।

अभियोग लागेकामध्ये तत्कालीन सभापति युरी कुमारी राई, ओमकृष्ण कर्माचार्य र भगवान शाक्य रहेका छन्। त्यसैगरी तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकारलाई पनि प्रतिवादी बनाइएको छ।

अदालतमा ठगीसम्बन्धी मुद्दा बिहीबार दर्ता भएको थियो। सोही मुद्दामा शुक्रबारदेखि प्रतिवादीहरूको बयान लिने कार्य सुरु भएको अदालत स्रोतले जनाएको छ।

यसअघि उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बाल मन्दिर प्रकरणमा ठगी भएको निष्कर्षसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा सीआईबीले विस्तृत अनुसन्धान अघि बढाएको थियो।

तपाईको प्रतिक्रिया