लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रारम्भ : रुपन्देहीको पश्चिम नवलपरासीमाथि २१७ रनको सानदार जित


तिलोत्तमा । रुपन्देहीमा शुक्रबारदेखि लिला सेन्चुरी मेमोरियल लुम्बिनी प्रदेशस्तरीय यु–१६ छनोट क्रिकेट प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमै घरेलु टोली रुपन्देहीले पश्चिम नवलपरासीलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको रुपन्देहीले ३५ ओभरको निर्धारित खेलमा ३३.१ ओभरमै सबै विकेट गुमाउँदै ३१६ रनको विशाल योगफल खडा गर्‍यो। कप्तान समीर अली मुसलमानले उत्कृष्ट प्रदर्शन गर्दै ११८ रनको शतकीय इनिङ खेले। यस्तै, सिद्धार्थ ढकालले ५५, आरिफ खानले ४३ र रोजन कुमालले ३८ रनको योगदान दिए।

जवाफमा ३१७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको पश्चिम नवलपरासीको टोली १६ ओभरमै जम्मा ४५ रनमा समेटियो। नवलपरासीका प्रेम सागर यादवले १३ र आरोन जङ गिरीले १२ रन बनाए।

बलिङतर्फ नवलपरासीका विष्णु थाथरले ४ विकेट लिँदा, पञ्चङ मिश्रा र सगर पाण्डेले २/२ विकेट तथा आर्यन अलीले १ विकेट हात पारे। रुपन्देहीका लागि लक्ष्मण कुमाल, प्रिन्स पाल र तुषार चौहानले २/२ विकेट तथा सोहेब हसन मुसलमान र सुप्रीम कंडेलले १/१ विकेट लिए।

उत्कृष्ट प्रदर्शनका आधारमा रुपन्देहीका समीर अली मुसलमान खेलको प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिता संयोजक प्रथम पराजुलीका अनुसार शनिबारको खेलमा पाल्पा र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि, प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले लुम्बिनी प्रदेश क्रिकेटको सम्भावनायुक्त केन्द्र बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा प्रदेश सफल हुने विश्वास व्यक्त गरिन्। उनले हाल नेपाली खेलाडीको प्रदर्शन उत्साहजनक रहेको बताउँदै थप लगानी र अवसरको खाँचो रहेको धारणा राखिन्।

तपाईको प्रतिक्रिया