कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताप्रतियोगिता आयोजना हुने

काठमाडौं — कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ। सोमबार आयोजक पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक क्रिकेट संघले प्रतियोगिताको जानकारी सार्वजनिक गरेका छन्।

प्रतियोगिता भोलि मंगलबारदेखि असार २ गतेसम्म चल्नेछ। यसमा सिन्धुपाल्चोक जिल्लाका सात टोली सहभागी हुनेछन्।

टोलीमा वाग्मती प्रदेशबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरिसकेका र प्रदेश तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा खेलिसकेका दुई खेलाडीसमेत रहनेछन्। यस्तै, टोलीमा केवल जिल्लाका बासिन्दालाई मात्र सहभागी हुन अनुमति दिइनेछ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले एक लाख रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टोलीले ५० हजार रुपैयाँसहित समान पुरस्कार प्राप्त गर्नेछ।

व्यक्तिगत विधामा सर्वोत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द सिरिज’, उत्कृष्ट ब्याट्सम्यानलाई ‘बेस्ट ब्याट म्यान’ र उत्कृष्ट बलरलाई ‘बेस्ट बलर’ पुरस्कार प्रदान गरिनेछ।

सर्वोत्कृष्ट खेलाडीलाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए)ले ६ महिनाको निःशुल्क तालिम प्रदान गर्नेछ भने बेस्ट बलर र बेस्ट ब्याटरलाई तीन महिनाको निःशुल्क तालिम प्रदान गरिनेछ। साथै, एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीले पनि उत्कृष्ट खेलाडीलाई तीन महिनाको निःशुल्क तालिम दिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया