नेपाली क्रिकेट टोलीले आज खेल्दै आफ्नो १००औं टी-२० अन्तर्राष्ट्रिय खेल

काठमाडौं — नेपाली क्रिकेट टोलीले आज आफ्नो १००औं टी-२० अन्तर्राष्ट्रिय (टी-२०आई) खेल खेल्दैछ। स्कटल्याण्डमा नेदरल्याण्ड्सविरुद्ध हुने यो खेल नेपालको टी-२०आई क्रिकेट इतिहासमा विशेष महत्व राख्दछ।

सन् २०१४ मा आईसीसी टी-२० विश्वकपबाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उत्रिएको नेपालले अहिलेसम्म ९९ वटा टी-२०आई खेलिसकेको छ। पहिलो टी-२०आई खेल हङकङविरुद्ध जितसँग सुरु गरेको नेपालले बंगलादेशसँग हार र अफगानिस्तानसँग जीत हासिल गरेको छ।

टी-२०आईको प्रारम्भिक टोलीबाट एकमात्र खेलाडी सोमपाल कामी अझै पनि टोलीको महत्वपूर्ण सदस्य हुन्। यद्यपि, यस शृंखलामा उनी चोटका कारण उपलब्ध हुने छैनन्।

अहिलेसम्म नेपालले खेलेका ९९ खेलमा ५५ मा जीत, ३९ मा हार, २ बराबरी र ३ नतिजाविहीन रहे।

नेपालका प्रमुख ब्याट्सम्यानमा दिपेन्द्रसिंह ऐरीले ७८ खेलमा १७५६ रन बनाएका छन् भने कुशल भुर्तेलले ५७ खेलमा १४२० रन, कप्तान रोहित पौडेलले १३५८ र आसिफ शेखले १३५२ रन बनाएका छन्।

बलिङमा सन्दीप लामिछानेले सर्वाधिक १०८ विकेट लिएका छन् भने करण केसीले ९९ विकेट लिएका छन्। आजको खेलमा करण केसीले आफ्नो १००औं विकेट लिने अवसर पनि पाउनेछन्।

नेपालले टी-२०आईमा आफ्नो सबैभन्दा ठूलो योगफल ३१४ रन बनाएको छ, जुन २७ सेप्टेम्बर २०२३ मा मङ्गोलियाविरुद्ध हाङ्झोउमा सम्पन्न एसियन गेम्समा बनाइएको थियो। यो विश्व क्रिकेट इतिहासमा पहिलोपटक टी-२०आईमा ३०० भन्दा बढी रन बनाइएको उदाहरण थियो।

त्यस खेलमा कुशल मल्लले १३७ रन बनाए, जुन नेपालका लागि टी-२०आईमा सर्वाधिक व्यक्तिगत स्कोर हो।

नेपालका पाँच ब्याट्सम्यानले टी-२०आईमा शतक पूरा गरेका छन्। पहिलो शतक पारस खड्काले सन् २०१९ मा सिंगापुरविरुद्ध बनाएका थिए। त्यसपछि कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले क्रमशः शतक बनाएका छन्।

टी-२०आईमा नेपालको सबैभन्दा कम योगफल ५३ रन हो, जुन १३ जुलाई २०१५ मा आयरल्यान्डविरुद्ध बेलफास्टमा भएको विश्वकप छनोट खेलमा बनेको थियो।

बलिङतर्फ, अविनाश बोहराले माल्दिभ्सविरुद्ध ११ रनमा ६ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए।

दिपेन्द्रसिंह ऐरीले एसियन गेम्सकै खेलमा ९ बलमा अर्धशतक बनाएका थिए, जुन विश्व रेकर्ड समान छ। उनले एकै ओभरमा ६ छक्का प्रहार गरेको पनि नेपालका लागि टी-२० क्रिकेटमा विशिष्ट उपलब्धि हो।

तपाईको प्रतिक्रिया