राहदानी छपाइ ठेक्का प्रकरणमा सात प्रतिवादीको थुनछेक बहस जारी

काठमाडौं — राहदानी छपाइसँग सम्बन्धित ठेक्का प्रक्रियामा भएको भनिएको भ्रष्टाचार प्रकरणमा मुद्दा खेपिरहेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित सात प्रतिवादीको थुनछेक बहस विशेष अदालतमा जारी रहेको छ।

शुक्रबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासमा बहस भइरहेको हो। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ८ गते कुल १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले उक्त मुद्दामा करिब १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ। मुद्दामा दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिसहित परराष्ट्र मन्त्रालयअन्तर्गत कार्यरत नौ कर्मचारीलाई पनि प्रतिवादी बनाइएको छ।

प्रतिवादीहरूको बयान प्रक्रिया पूरा भएपछि बिहीबारदेखि थुनछेक बहस सुरु भएको हो। मुद्दा दायर गर्दा सात जनालाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराइएको थियो।

अदालतमा उपस्थित गराइएकामध्ये राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव (कानुन) राजाराम दाहाल, शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपीन प्रसाईं तथा म्युल्बाउअर आईडी सर्भिसेसका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ल रहेका छन्।

थुनछेक बहस सम्पन्न भएपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा हाजिर जमानीमा छाड्ने विषयमा निर्णय गर्नेछ।

विशेष सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले आयोगका तर्फबाट बहस गर्दै आरोपितमाथि लगाइएको बिगोको रकम ठूलो भएकाले पुर्पक्षका लागि थुनामै राख्नुपर्ने माग गरेका छन्।

अभियोगपत्रमा अन्य प्रतिवादीहरू भने फरार रहेको उल्लेख गरिएको छ। अख्तियारले राहदानी छपाइका लागि आह्वान गरिएको बोलपत्र प्रक्रियाको प्रारम्भिक चरणदेखि नै अनियमितता भएको दाबी गरेको छ। आयोगका अनुसार अनुसन्धानका क्रममा केही कर्मचारी र विदेशी कम्पनीबीच मिलेमतो गरी सरकारी हितविपरीत कार्य भएको आशंकामा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरिएको छ।

तपाईको प्रतिक्रिया