सातै प्रदेशमा बर्न उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना शीघ्र कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा रहेका बर्न वार्डको क्षमता र सेवा सुदृढ गर्न आवश्यक तयारी अघि बढाउन पनि आग्रह गरे।

प्रधानमन्त्री शाहले गम्भीर जलनका बिरामीले समयमै प्रभावकारी उपचार प्राप्त गर्न सकून् भन्ने उद्देश्यले संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

उनले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग तथा सुशासनलाई थप मजबुत बनाउन निर्देशन दिए।

आर्थिक रूपमा कमजोर, विपन्न तथा असहाय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले निजी अस्पतालहरूले बाह्यरोगी (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि उनले जोड दिएका छन्।

छलफलका क्रममा प्रधानमन्त्री शाहले स्वास्थ्य संस्थाले विकास गरेका सफल अभ्यासहरू एकअर्कासँग आदान–प्रदान गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, स्वास्थ्य प्रतिष्ठानका नाममा रहेका जग्गा अतिक्रमणका विषय सम्बन्धित निकायसँग समन्वय गरेर कानुनी प्रक्रियाअनुसार समाधान खोजिने बताए।

कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर, स्वास्थ्य सेवा विस्तार, अस्पताल व्यवस्थापन, विशेषज्ञ जनशक्ति, अनुसन्धान तथा पूर्वाधार विकाससँग सम्बन्धित सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणालीको विस्तार, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया