सर्वदलीय बैठकको उच्चस्तरीय राजनीतिक संयन्‍त्र बनाउने निर्णय

सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय गरेको छ।

भोटेकोशीमा बाढी र त्यसपछिको खोजी तथा उद्धार, राहत तथा पुनर्स्थापना र पुनर्निर्माणमा समेत छलफल गर्ने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिने निर्णय भएको बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

उनका अनुसार बाढीपछि लगातार बस्दै सर्वदलीय बैठकलाई नै सर्वदलीय संयन्त्रका रूपमा दिगो बनाइने निर्णय भएको हो।

‘यसको दिगो रूपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणका कुराहरूको सन्दर्भमा छलफल गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संयोजक रहनुभएको यो उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै रहने निर्णय भएको छ,’ प्रवक्ता खरेलले बैठकपछि पत्रकारहरूसँग भने।

संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत पार्टी लगायतका राजनीतिक दलहरू पनि यहाँ समावेश हुने उनले बताए।

त्यस्तै राष्ट्रिय सभामा उपस्थिति रहेको राष्ट्रिय जनमोर्चालाई पनि संयन्त्रमा समेट्ने र औपचारिक रूपमा बस्नका लागि अनुरोध गर्ने निर्णय भएको उनले बताए।

सर्वदलीय बैठकले तत्कालै एक हप्ताभित्र संसदीय समिति बनाउने र त्यो समितिमा सबै दलहरूको संसद्मा प्राप्त सिटको सङ्ख्याको आधारमा प्रतिनिधित्व रहने खरेलले बताए।

 आजको बैठकमा भोटेकोशी बाढीले पुर्याएको क्षति र जनधनको क्षति अनि त्यसमा खोजी, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण सम्मको प्रक्रियामा सरकारको नेतृत्वमा अहिलेसम्म भइरहेको काम, राजनीतिक दलहरूले पुर्याइरहेको योगदान र राज्यका विभिन्न निकायबाट भइरहेको कामको सन्दर्भमा गहन समीक्षा र छलफल भएको प्रवक्ता खरेलले बताए।

बैठकले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाह सहभागी हुन लागेको विषयमा पनि छलफल गरेको छ।  

‘हामीले विश्व मञ्चमा नेपालको तर्फबाट के कस्तो आवाजहरू उठाउनुपर्छ, कस्ता  छलफल अगाडि बढाउनुपर्छ भनेर पनि विभिन्न राजनीतिक दलका महत्वपूर्ण नेताहरूले कुरा राख्नुभएको छ आग्रह गर्नुभएको छ,’ खरेलले भने।

यसलाई सरकारले र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गम्भीर रूपमा लिएको उनले बताए।

तपाईको प्रतिक्रिया