साताको अन्तिम कारोबारमा नेप्से १७.९० अंकले उकालो, अधिकांश कम्पनीको मूल्य बढ्यो

काठमाडौं।साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धि देखिएको छ। आज नेप्से १७.९० अंकले बढ्दै २,७३४.६३ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

बजारमा सुधारसँगै कारोबार रकम पनि उल्लेख्य रहेको छ। आज ३५३ कम्पनीका करिब १ करोड ३७ लाख कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आजको कारोबारमा १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको मूल्य घटेको छ। यस्तै, १५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन।

मूल्य वृद्धिका आधारमा इभरेष्ट कलर लिमिटेड अग्रस्थानमा रहँदै यसको शेयर मूल्य १४.९९ प्रतिशतले बढ्यो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि १४.४६ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो। कम्पनीको ३० करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर (२७ करोड ३४ लाख रुपैयाँ), कुमारी बैंक (२५ करोड ८१ लाख रुपैयाँ) र अरुण काबेली पावर (१९ करोड ६६ लाख रुपैयाँ) धेरै कारोबार भएका कम्पनीमा परेका छन्।

आजको वृद्धिसँगै नेप्से परिसूचकले साताभरमा कुल ५७.०९ अंकको सुधार गरेको छ। गत साताको अन्त्यमा नेप्से २,६७७.५४ विन्दुमा बन्द भएको थियो।

तपाईको प्रतिक्रिया