सांसद प्रेम आलेको गुनासो: “म संसदमा बोलेको कुरा तोडमोड गरेर समाचार बनाइयो”

काठमाडौं, वैशाख १७ — नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले प्रतिनिधि सभा बैठकमा व्यक्त आफ्ना भनाइहरू केही सञ्चारमाध्यमले तोडमोड गरी समाचार बनाएको आरोप लगाएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आलेले सोमबार संसदमा बोलेका विषयलाई स्पष्ट रूपमा नबुझी, विकृत ढंगले प्रस्तुत गरिएको भन्दै आपत्ति जनाए। उनले भने, “हिजो मैले संसदमा बोलेको शब्दलाई राम्रोसँग नसुनीकन अश्लील भनेर समाचार सम्प्रेषण गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।”

सांसद आलेका अनुसार सोमबारको बैठकमा उनले ‘पार्टीको दबाब झेल्न नसकेर त्यो व्यक्तिलाई डिजी (महानिर्देशक) बनाइएको’ उल्लेख गरेका थिए। तर केही सञ्चारमाध्यमले त्यो अभिव्यक्तिलाई तोडमोड गरेर सम्प्रेषण गरेको उनको दाबी छ।

“२५०० वाटको स्पिकर राखेर पनि राम्रोसँग नसुनेर समाचार बनाइयो,” उनले व्यंग्य गर्दै भने, “यस्तो संवेदनशील विषयमा समाचार लेख्दा प्रष्ट बुझेर मात्र सम्प्रेषण गर्न आग्रह गर्दछु।”

सांसद आलेले सत्य र सन्तुलित समाचारका लागि पत्रकारिता आचारसंहिताको पालना आवश्यक रहेकोसमेत औँल्याएका छन्।

तपाईको प्रतिक्रिया