गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर संसद अवरुद्ध गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको टिप्पणी गरेका छन्।

मंगलबार एमाले संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संसद अब नियमित रूपमा सञ्चालन हुने बताएका छन्। उनले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवाद गर्न खोज्दा उहाँ सम्पर्कमा नआएको उल्लेख गर्दै यस्तो व्यवहार संसदीय परम्परासँग मेल नखाने बताए।

“संसद सधैं जानीजानी अवरोध गरेर चल्दैन। कुनै ठोस कारण नदिई गृहमन्त्रीको राजीनामा माग्नु संसद चल्न नदिने बहाना मात्र हो,” उनले भने, “गृहमन्त्रीमाथि कुनै छानबिन वा गुनासोसमेत छैन। यस्तो अवस्थामा संसद रोक्नु लोकतन्त्रविपरीत हो।”

प्रधानमन्त्री ओलीले सडकमा कसैले माग राखे मात्र भनेर संसदसमेत अवरुद्ध गर्नु प्रतिगमनको सहयोगी बन्ने बताए। उनले देश गम्भीर मोडमा रहेको र हालै सरकारको बजेट प्रस्तुत भएकाले सांसदहरूलाई त्यसबारे तार्किक ढंगमा धारणा राख्न आह्वान गरे।

त्यस्तै, उनले राजतन्त्र पुनःस्थापनाको बहसप्रति असन्तुष्टि जनाउँदै भने, “आजको युगमा राजतन्त्रको कुनै वैज्ञानिक वा न्यायिक आधार छैन। यस्ता कुरा गर्नु चेतनाको कमी देखाउने कुरा हो। नेपालमा अब फेरि राजतन्त्र ल्याउने कुरा गर्नु समय र समाजको प्रवाहविरुद्ध जानु हो।”

प्रधानमन्त्रीले कतिपय पक्षले सत्ता नपाएर कुण्ठा देखाइरहेको, सरकारले गरेका सकारात्मक कामहरूलाई नदेख्ने र असफल बनाउने प्रवृत्तिको आलोचना पनि गरे।

तपाईको प्रतिक्रिया