सक्कली बिल लिने उपभोक्तालाई दैनिक नगद पुरस्कार, सरकारको ‘लखपति’ योजना सुरु

काठमाडौं ।सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियान सञ्चालनमा ल्याएको छ। अभियानमार्फत नागरिकलाई सक्कली बिल लिन प्रोत्साहन गर्दै दैनिक र मासिक नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

योजनाअनुसार हरेक दिन एक जना नेपाली उपभोक्तालाई लखपति बनाइनेछ। त्यसैगरी, प्रत्येक महिनामा दुई जना विजेतालाई बम्पर पुरस्कारस्वरूप जनही १० लाख रुपैयाँ प्रदान गरिने सरकारको व्यवस्था छ।

मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भएका व्यवसायबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान वा सेवा खरिद गरी सक्कली बिल लिने उपभोक्ता यस योजनामा सहभागी हुन सक्नेछन्। नगद वा विद्युतीय माध्यमबाट गरिएको भुक्तानीपछि प्राप्त सक्कली बिलको नम्बरका आधारमा विजेता छनोट गरिने जनाइएको छ।

सरकारले उपभोक्तालाई कुनै पनि सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा सेवा लिँदा अनिवार्य रूपमा सक्कली बिल लिन आग्रह गरेको छ। यस अभियानले राजस्व चुहावट नियन्त्रण, कर प्रणालीमा पारदर्शिता अभिवृद्धि तथा उपभोक्तामा सक्कली बिल लिने संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

हालका लागि योजनाअन्तर्गत विजेताको घोषणा प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन अर्थात् पाक्षिक रूपमा गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया