शान्ति वार्ताका लागि जुनसुकै स्थानमा भेट्न तयार : पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस–युक्रेनबीच जारी युद्ध अन्त्यतिर उन्मुख रहेको बताएका छन्। मस्कोमा आयोजित विजय दिवस समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लामो समयदेखिको द्वन्द्व समाधानतर्फ अघि बढिरहेको संकेत गरेका हुन्।

उनले युद्ध अन्त्यका लागि विभिन्न कूटनीतिक पहल जारी रहेको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समाधानका लागि सक्रिय प्रयास गरिरहेको बताए। पुटिनका अनुसार युद्धविराम र युद्धबन्दी आदानप्रदानसम्बन्धी प्रस्तावलाई रूसले सकारात्मक रूपमा स्वीकार गरिसकेको छ।

उनले यसअघि रूसले कैदी साटासाटको प्रस्ताव पठाए पनि युक्रेनबाट औपचारिक प्रतिक्रिया प्राप्त नभएको दाबी गरे। साथै, हाल लागू गरिएको अस्थायी युद्धविराम अवधिमा कुनै गम्भीर उल्लंघनको विवरण सार्वजनिक नभएको पनि बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्भावित भेटवार्ताबारे बोल्दै पुटिनले आफू संवादबाट पछि नहटेको स्पष्ट पारे। उनले अन्तिम शान्ति सम्झौताका लागि आवश्यक भए जुनसुकै स्थानमा भेट्न तयार रहेको बताए।

पुटिनका अनुसार दुवै देशबीच स्थायी समाधानका लागि प्रत्यक्ष वार्ता आवश्यक रहेको छ।

तपाईको प्रतिक्रिया