लिपुलेक–कालापानी नेपालको भूभाग भएकोमा सरकार स्पष्ट : परराष्ट्र मन्त्रालय

काठमाडौं, वैशाख २५ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको विषयमा सरकार स्पष्ट र अडिग रहेको जनाएको छ । मन्त्रालयले सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि दोहोर्‍याएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक क्षेत्रको विषयमा नेपालले आफ्नो धारणा यसअघि नै सार्वजनिक गरिसकेको बताए ।

उनले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गरिने भनिएको कैलाश मानसरोवर यात्राका सन्दर्भमा सरकारले २०८३ वैशाख २० गते आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको स्मरण गराए ।

प्रवक्ता क्षेत्रीका अनुसार सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूभाग भएको तथ्यमा नेपाल सरकार पूर्ण रूपमा स्पष्ट रहेको छ ।

उनले नेपालले आफ्नो धारणा भारत र चीन दुवै देशलाई कूटनीतिक माध्यमबाट पुनः जानकारी गराइसकेको पनि बताए ।

नेपाल–भारतबीच रहेको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको भावना अनुरूप ऐतिहासिक सन्धि, तथ्य, नक्सा तथा प्रमाणका आधारमा सीमा विवाद समाधान गर्न सरकार सधैँ प्रतिबद्ध रहेको प्रवक्ता क्षेत्रीको भनाइ छ ।

तपाईको प्रतिक्रिया