लगानीकर्ता ‘पर्ख र हेर’मा, नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं — लगातार तीन कारोबार दिन बढेको सेयर बजार मंगलबार भने ओरालो लागेको छ। बजार परिसूचक नेप्से ३९.४४ अंकले घट्दै २७४४ विन्दुमा पुगेको हो।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुँजी बजार सुधारका विषय समेटिए पनि लगानीकर्ता त्यसप्रति पूर्ण रूपमा विश्वस्त हुन नसकेको देखिएको छ। विगतमा पनि यस्ता घोषणा दोहोरिँदै आएको तर कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै बजारमा सकारात्मक प्रभाव देखिन नसकेको विश्लेषण गरिएको छ।

नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई सेयर बजारमा सहभागी गराउने, नेप्सेको पुनर्संरचना गर्ने तथा बन्ड बजार विस्तार गर्ने विषय उल्लेख गरिएको छ। तर यी योजनाको कार्यान्वयन प्रक्रिया अझै स्पष्ट नभएकाले लगानीकर्तामा उत्साह नदेखिएको बजार विश्लेषकहरूको भनाइ छ।

बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेर ४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। मंगलबार कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ भने थोरै कम्पनीमा मात्रै वृद्धि देखिएको छ।

क्षेत्रगत रूपमा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, माइक्रोफाइनान्स, बीमा र व्यापार समूहका सूचकमा गिरावट आएको छ। केही समूहमा दुई प्रतिशतभन्दा बढीले कमी आएको बजार तथ्यांकले देखाएको छ।

कारोबारका क्रममा धौलागिरि लघुवित्त वित्तीय संस्था को सेयर मूल्य सबैभन्दा बढी बढेको छ भने फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था को मूल्यमा उच्च गिरावट देखिएको छ।

मंगलबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेसनल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट तथा एसवाई प्यानल रहेका छन्।

तपाईको प्रतिक्रिया