युएईका वैदेशिक व्यापारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता, व्यापार र लगानी विस्तारमा जोड

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई)का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–युएई द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटवार्तामा व्यापार, लगानी, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल रूपान्तरण, पर्यटन, श्रम तथा बसाइँसराइ, पूर्वाधार विकास र नवीकरणीय ऊर्जालगायतका विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो। दुवै पक्षले आपसी हितका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलका क्रममा युएईको सोभरेन वेल्थ फन्डमार्फत नेपालका विभिन्न विकास आयोजनामा लगानी बढाउने विषयमा पनि विशेष रूपमा कुराकानी भएको मन्त्रालयले जनाएको छ। नेपालले ऊर्जा, पूर्वाधार, पर्यटन तथा अन्य प्राथमिकताप्राप्त क्षेत्रमा युएईबाट थप लगानी आकर्षित गर्न चाहेको धारणा मन्त्री खनालले राखेका थिए।

भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल र युएईबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध तथा पछिल्ला वर्षहरूमा बढ्दै गएको सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा आर्थिक, व्यापारिक तथा कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

उनले युएईमा कार्यरत नेपाली श्रमिकसँग सम्बन्धित कन्सुलर प्रक्रियालाई सहज बनाउन पनि आग्रह गरेका छन्। विशेषगरी नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित भइसकेका नेपाली नागरिकका प्रहरी प्रतिवेदनलाई युएई सरकारले पुनः प्रमाणीकरण गर्नुपर्ने हालको व्यवस्था हटाएर प्रक्रिया सरल बनाउनुपर्ने विषय उनले उठाएका थिए। यसबाट नेपाली कामदार तथा सेवाग्राहीलाई अनावश्यक झन्झट कम हुने विश्वास व्यक्त गरिएको छ।

भेटवार्ताका क्रममा मन्त्री खनालले नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको अवसरलाई दुवै देशले विशेष रूपमा मनाउने तयारी गरिरहेको जानकारी गराएका थिए। उनले स्वर्ण जयन्ती वर्षलाई आर्थिक, सांस्कृतिक तथा विकास साझेदारीलाई थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।

मन्त्रालयका अनुसार नेपालले स्वर्ण जयन्ती वर्षको अवसरमा युएईबाट विभिन्न विकास परियोजनामा थप लगानी भित्र्याउने अपेक्षा राखेको छ। दुवै देशबीचको बढ्दो सहकार्यले व्यापार, लगानी, पर्यटन तथा श्रम क्षेत्रका सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास पनि व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया