बिजुलीको ‘सिजनल ट्यारिफ’बारे आज छलफल

काठमाडौं । सरकारले वर्षायाममा विद्युत्को महसुल घटाएर आन्तरिक खपत बढाउने तयारी अघि बढाएको छ। नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने विषयमा गृहकार्य गरिरहेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, ऊर्जा, उपभोक्ता तथा वित्त क्षेत्रका प्रतिनिधि सदस्य छन्।

महसुल पुनरावलोकनका विषयमा छलफल गर्न समितिको बैठक आज अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्दैछ। बैठकमा वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को अधिकतम उपयोग र उपभोक्तालाई सहुलियत दिने उपायबारे छलफल हुने बताइएको छ।

समितिका संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्दा पर्याप्त खपत हुन नसकेर बिजुली खेर जाने अवस्था छ। यस्तो अवस्थामा ‘सिजनल ट्यारिफ’ लागू गरेर विद्युत्को खपत बढाउने विकल्पमा छलफल भइरहेको छ।

उनका अनुसार उद्योगलाई समेत वर्षायाममा सस्तो दरमा विद्युत् उपलब्ध गराउने तयारी छ। विद्युत्को लागत घटेपछि उद्योगले उत्पादन गर्ने वस्तु तथा सेवाको मूल्यमा समेत त्यसको सकारात्मक प्रभाव पार्ने गरी आवश्यक समन्वय गरिनेछ।

‘सिजनल ट्यारिफ’मार्फत विद्युत्को महसुल कति घटाउन सकिन्छ भन्ने विषयमा आजको बैठकमा छलफल हुने संयोजक शाहीले बताएका छन्। उद्योगले सहुलियत दरमा प्राप्त विद्युत्को लाभ उपभोक्तासम्म कसरी पुर्‍याउन सक्छ भन्ने विषय पनि छलफलको एजेन्डामा रहेको उनले जानकारी दिए।

महसुल पुनरावलोकन सम्बन्धी निर्णय छिट्टै गर्ने तयारी भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया