बागमती प्रदेशसभा बैठक भदौ १ गते, मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालय हेटौँडाले शुक्रबार सूचना जारी गर्दै दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो।

प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईँका अनुसार बैठकमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची तय भएको छ। प्रदेशसभाको जारी आठौँ अधिवेशनअन्तर्गत हुने बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्।

संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ अनुसार मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव पेस गर्न लागेका हुन्।

उक्त प्रस्तावमाथि छलफल तथा मतदानका लागि प्रदेशसभा नियमावलीको नियम ६ बमोजिम सभामुखले बैठकको मिति र समय निर्धारण गरेको सचिवालयले जनाएको छ।

यसअघि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पारित गर्ने प्रयोजनका लागि असार २० गते प्रदेशसभा बैठक बसेको थियो। त्यसपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैठक ४३ दिनपछि पुनः बस्न लागेको हो।

तपाईको प्रतिक्रिया