प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं — प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, परराष्ट्र मन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ।

बैठकमा यी प्रस्ताव तथा विधेयकमाथि प्रतिनिधिसभाको प्रक्रिया अनुसार छलफल अघि बढाइनेछ।

तपाईको प्रतिक्रिया