पाकिस्तानमा प्रहरी गाडीलाई लक्षित विस्फोट, सात जनाको मृत्यु

इस्लामाबाद — पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीको गाडीलाई लक्षित गरी भएको विस्फोटमा दुई प्रहरीसहित सात जनाको मृत्यु भएको छ। घटनामा अन्य केही व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विस्फोट लक्की मारवत जिल्लाको व्यस्त बजार क्षेत्रमा भएको हो। नियमित गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। बजार क्षेत्रमा घटना भएकाले सर्वसाधारण पनि प्रभावित भएका छन्।

घटनापछि सुरक्षा निकायले क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। बम डिस्पोजल टोलीलाई घटनास्थलमा परिचालन गरिएको छ भने विस्फोटको प्रकृति र प्रयोग गरिएको सामग्रीबारे अध्ययन भइरहेको बताइएको छ।

घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ। हालसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी स्वीकार गरेको छैन।

तपाईको प्रतिक्रिया