नेप्से २१ अंकले घट्यो, सुधार कार्ययोजनापछिको बजार उत्साह टिकेन

काठमाडौँ — सरकारले पूँजीबजार सुधारका लागि कार्ययोजना सार्वजनिक गरेपछि मंगलबार देखिएको सकारात्मक प्रभाव बुधबार भने कायम रहन सकेन। साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २१.१९ अंकले घटेर २ हजार ६१२.४२ विन्दुमा पुगेको छ।

बुधबार सेन्सेटिभ इन्डेक्स पनि ३.७७ अंकले ओरालो लागेको छ। यस्तै, फ्लोट इन्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अंकले घटेको छ।

बजार परिसूचकसँगै कारोबार गतिविधिमा समेत कमी आएको छ। बुधबार ३५० वटा कम्पनी तथा धितोपत्रको ५५ हजार ८३१ पटक कारोबार हुँदा कुल ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख १ हजार कित्ता सेयर कारोबार भएको छ। अघिल्लो दिन मंगलबार कारोबार रकम ८ अर्ब २९ करोड रुपैयाँ थियो।

बुधबार नेप्सेमा रहेका सबै १३ उपसमूहका परिसूचकमा गिरावट देखिएको छ। जलविद्युत उपसमूहको सूचक १.०४ प्रतिशतले घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने निर्जीवन बीमा उपसमूहमा करिब १ प्रतिशतको गिरावट आएको छ।

मूल्य वृद्धितर्फ नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी लाभ पाएका छन्। कम्पनीको सेयर मूल्य ६.३७ प्रतिशतले बढेको छ। हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य पनि करिब साढे ५ प्रतिशतले उक्लिएको छ।

यसैबीच, कारोबारमा आएको एनएमबी हाइब्रिड फन्ड एल–२ को इकाइ मूल्य ७.७३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर अगाडि रहेको छ। कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको पनि २५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया