ठगी आरोपमा कलाकार नारद खतिवडा र पूर्वएसएसपी गोपाल गुरुङ पक्राउ

काठमाडौं । अध्यागमन विभागको नियन्त्रणमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिएर रकम असुलेको आरोपमा कलाकार नारद खतिवडा र सशस्त्र प्रहरी बलका पूर्वएसएसपी गोपाल गुरुङ पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उदयपुरका विक्रमबहादुर थापालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै करिब ७२ लाख रुपैयाँमा सहमति भएको र त्यसअन्तर्गत ९ लाख रुपैयाँ लिइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुई साताअघि पर्यटक भिसामा नेपाल आएका तथा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा नौ जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो। ती नागरिकलाई छुटाइदिने व्यवस्था मिलाइदिने भन्दै रकम असुलेको आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया