ट्राफिक नियममा नागरिकसँगै राज्य पनि उत्तरदायी हुनुपर्ने शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले ट्राफिक नियम उल्लङ्घनका विषयमा नागरिकमाथि मात्र कारबाही केन्द्रित गर्ने नीति पर्याप्त नभएको बताएका छन्। उनले राज्यका निकाय पनि आफ्ना कमजोरीप्रति समान रूपमा उत्तरदायी हुनुपर्ने व्यवस्था कानुनमै समेट्नुपर्ने धारणा राखेका हुन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले ट्राफिक नियम उल्लङ्घन गर्ने नागरिकलाई जरिवाना गर्ने व्यवस्था भएजस्तै सरकारी निकायको लापरबाहीबाट नागरिक प्रभावित हुँदा राज्यले पनि क्षतिपूर्ति र जरिवाना तिर्नुपर्ने कानुनी प्रबन्ध आवश्यक रहेको बताए।

उनले सडकका खाल्डाखुल्डी समयमै मर्मत नगरिए, ट्राफिक बत्ती लामो समयसम्म सञ्चालनमा नरहे, ट्राफिक प्रहरीबाट नागरिकमाथि अभद्र व्यवहार भए, रातिको समयमा सडक बत्ती नबले वा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निर्धारित समयभित्र उपलब्ध नगराइएमा सम्बन्धित निकायलाई आर्थिक दायित्व वहन गराउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे।

सांसद शाहीले सडकको कमजोर अवस्थाका कारण हुने सवारी दुर्घटनालाई पनि गम्भीर कानुनी विषयका रूपमा लिनुपर्ने बताए। उनका अनुसार सडक निर्माण तथा मर्मतमा भएको लापरबाहीका कारण दुर्घटना भए त्यसमा जिम्मेवार सरकारी निकाय र निर्माण कम्पनीलाई कानुनी कारबाहीको दायरामा ल्याउने व्यवस्था गर्न सरकार अग्रसर हुनुपर्छ।

उनले कानुन नागरिकलाई मात्र दण्डित गर्ने माध्यम नभई राज्यका निकायलाई पनि जिम्मेवार र जवाफदेही बनाउने आधार बन्नुपर्ने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया