ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध कडाइ, एकै दिन १० लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिँदै पछिल्लो २४ घण्टामा २ हजार ७६ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा गरिएको कारबाहीबाट १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ८८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ९३ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ११७ जना तथा तीव्र गतिमा सवारी चलाउने २२८ जना चालक कारबाहीमा परेका छन्।

त्यस्तै, ट्राफिक अनुशासन पालना नगर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९० जना र एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने ८८ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

यसका अतिरिक्त विभिन्न प्रकारका अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १८६ जना चालकसमेत कारबाहीको दायरामा आएका छन्। ट्राफिक प्रहरीले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित अनुगमन तथा कारबाही जारी रहने जनाएको छ।

तपाईको प्रतिक्रिया