चितवनमा जुवातासविरुद्ध प्रहरी सक्रिय, एक वर्षमा लाखौँ रकम बरामद

चितवन । जिल्लाका विभिन्न स्थानमा प्रहरीले जुवातास खेल्ने व्यक्तिहरूमाथि निगरानी बढाउँदै कारबाहीलाई तीव्र बनाएको छ। चालु आर्थिक वर्ष सुरु भएयता मात्रै ५७ जना जुवाडेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूबाट रु ८ लाख ३८ हजार ६४५ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिए। उनीहरूलाई जुवा कसुरअन्तर्गत आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रहरीका अनुसार विभिन्न पाँच स्थानबाट पक्राउ परेका केही व्यक्तिको अनुसन्धान पूरा गरी मुद्दा प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय पठाइएको छ।

यसअघि गत आर्थिक वर्षमा पनि प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन भएका जुवातास गतिविधिविरुद्ध कारबाही गर्दै १०१ जनालाई पक्राउ गरेको थियो। सो क्रममा रु १२ लाख ९ हजार ३६५ नगद बरामद गरिएको थियो। पक्राउ परेका सबैमाथि जुवा कसुरअन्तर्गत कारबाही गरिएको प्रहरीले जनाएको छ।

पछिल्लो समय जुवातास नियन्त्रणका लागि प्रहरीले सम्भावित स्थानहरूमा निगरानी र खोजतलास अभियानलाई थप प्रभावकारी बनाउँदै लगेको छ।

तपाईको प्रतिक्रिया