‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान–२ मा सडक नाटक र स्वच्छता र्‍याली

लहान, — लहान नगरपालिकाले सञ्चालन गरिरहेको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत वडा नं. २ को दिनाभादारी टोल (धारा टोल) मा बिहीबार जनचेतनामूलक सडक नाटक तथा स्वच्छता र्‍याली आयोजना गरेको छ। कार्यक्रममार्फत शौचालयको नियमित प्रयोग, व्यक्तिगत सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी सन्देश प्रवाह गरिएको हो।

बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रममा स्थानीय युवा, महिला, बालबालिका तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सहभागीहरूले “गहना–ज्वेलरी, रूप–सिङ्गार, शौचालय बिना जीवन बेकार”, “स्वच्छता अपनाऔँ, बिरामी हटाऔँ” तथा “शौचालय हाम्रो सभ्यताको इज्जत हो” लगायतका नारासहित दिनाभादारी टोल (धारा टोल) क्षेत्रको परिक्रमा गरेका थिए।

र्‍यालीपछि प्रस्तुत गरिएको सडक नाटकमा शौचालयको नियमित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरण संरक्षण तथा खुला दिसामुक्त अवस्थाको निरन्तरतासम्बन्धी विषयलाई समेटिएको थियो। कलाकारहरूले स्थानीय परिवेशमा आधारित कथावस्तु, संवाद र अभिनयमार्फत सरसफाइलाई दैनिक जीवनको अनिवार्य अभ्यासका रूपमा अपनाउनुपर्ने सन्देश दिएका थिए।

नाटकको मुख्य सन्देश “शौचालय मर्यादासँग जोडिएको छ, शौचालय हाम्रो शान हो” रहेको थियो। प्रस्तुतिमार्फत शौचालयलाई केवल भौतिक संरचना नभई स्वास्थ्य, आत्मसम्मान, पारिवारिक प्रतिष्ठा र सभ्य समाजको आधारका रूपमा प्रस्तुत गरिएको थियो। साथै स्वच्छ वातावरण निर्माणमा प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण हुने विषयमा पनि जोड दिइएको थियो।

कार्यक्रम अवलोकन गर्न स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सडक नाटकजस्ता सिर्जनात्मक माध्यमबाट स्वच्छतासम्बन्धी सन्देश समुदायसम्म प्रभावकारी रूपमा पुग्ने प्रतिक्रिया दिएका थिए।

लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले ‘घर–घरको शान, स्वच्छता अभियान’ सरसफाइमा मात्र सीमित नभई नागरिकको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अभियान भएको बताए। उनले स्वच्छ नगर निर्माणका लागि भौतिक पूर्वाधारसँगै जनचेतना अभिवृद्धि र नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार अभियानमार्फत शौचालयको नियमित तथा दिगो प्रयोगलाई प्रोत्साहन गर्ने, व्यक्तिगत र वातावरणीय सरसफाइलाई दैनिक जीवनशैलीको हिस्सा बनाउने तथा जनस्वास्थ्यमा सुधार ल्याउने लक्ष्य राखिएको छ।

नगरपालिकाले आगामी दिनमा पनि नगरका विभिन्न वडा तथा टोलमा सडक नाटक, स्वच्छता र्‍याली, अन्तरक्रिया तथा अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै स्वच्छ, स्वस्थ र व्यवस्थित लहान निर्माणका प्रयासलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया