एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय

काठमाडौं — नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय गरेको छ। सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।

उनका अनुसार बैठकले तत्कालका लागि भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय मात्र गरेको छ भने अन्य विषयमा छलफल भए पनि अन्तिम निर्णय हुन बाँकी रहेको छ। थप छलफलका लागि आगामी जेठ ८ गते अर्को बैठक बस्ने बताइएको छ।

यस अघि गत वर्ष साउनमा एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। पूर्वराष्ट्रपति पदमा पुगिसकेपछि सक्रिय दलगत राजनीतिमा फर्किनु उपयुक्त नहुने र पार्टी मर्यादा कायम राख्नुपर्ने तर्क गर्दै उक्त निर्णय गरिएको थियो।

त्यस समयमा पार्टी नेतृत्वले राष्ट्रपति भइसकेको व्यक्ति साझा चरित्रको हुने भएकाले सक्रिय राजनीतिक भूमिकामा फर्किन नहुने धारणा राखेको थियो। सो निर्णयमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललगायत नेताहरूको सहमति रहेको बताइएको थियो।

हालको निर्णयसँगै एमालेभित्रको राजनीतिक समीकरणमा नयाँ संकेत देखिएको नेताहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया