सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार,

काठमाडौं, जेठ २२। सरकारले अध्ययन बिदा वा असाधारण बिदामा गएर अवधि सकिएपछि कार्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी प्रक्रिया सुरु गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले जारी गरेको सूचनाअनुसार केही कर्मचारीहरू बिदा अवधि समाप्त भइसकेपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएको, कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा रहेको व्यक्तिगत विवरण (PIS) समेत अद्यावधिक नगरेको पाइएको छ।

मन्त्रालयले यस्ता कर्मचारीहरूलाई सूचना प्रकाशित भएको मितिबाट तीन दिनभित्र आफ्नो अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको छ। साथै विभिन्न मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय कार्यालयहरूलाई पनि बिदामा रहेका कर्मचारीहरूको विवरण यकिन गरी अभिलेख अद्यावधिक गराउन आग्रह गरिएको छ।

सूचनामा अध्ययन वा असाधारण बिदा समाप्त भइसकेपछि पनि कार्यालयमा हाजिर नभएका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने संकेत गरिएको छ।

सरकारले निजामती सेवाको अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले कर्मचारीहरूको वास्तविक अवस्था अद्यावधिक राख्न यो अभियान सुरु गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया