आगामी बजेट आशावादी हुने अर्थमन्त्री वाग्लेको संकेत, निजी क्षेत्रलाई विकासको केन्द्रमा राखिने


काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट आशा जगाउने खालको हुने संकेत गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले बजेटमार्फत निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदार बनाइने बताउनुभयो।

उहाँले आर्थिक वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुने उल्लेख गर्दै सरकार त्यसैअनुसार नीति निर्माणमा अघि बढिरहेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि रणनीतिक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको पनि बताउनुभयो।

दीर्घकालीन रूपमा करिब १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो। सरकारको सीमित स्रोतका कारण आर्थिक विस्तार मुख्यतः निजी लगानीमै निर्भर रहने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो।

उहाँका अनुसार आर्थिक गतिविधिमा सरकारको खर्च हिस्सा करिब २५ देखि ३० प्रतिशत मात्र रहेकाले बाँकी क्षेत्र निजी क्षेत्रले सम्हालिरहेको छ। साथै, आर्थिक सुधारका लागि बाधक बनेका करिब दुई दर्जन ऐन खारेज गर्ने तयारी भइरहेको र कर प्रणालीलाई सरल तथा लगानीमैत्री बनाइने जानकारी पनि दिनुभयो।

अर्थमन्त्री वाग्लेले सरकारले सामाजिक बजार अर्थतन्त्रको अवधारणाअनुसार नीति अघि बढाउने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षामार्फत समतामूलक विकास सुनिश्चित गर्ने लक्ष्य रहेको बताउनुभयो।

तपाईको प्रतिक्रिया