भोलिदेखि पोखरा–छेन्दु नियमित उडान

काठमाडौं: नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित व्यावसायिक चार्टर उडान सुरु हुने भएको छ।

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान सञ्चालन गर्ने छ।

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ।

“पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुहरूका लागि कम खर्चमा सहज पहुँचको अवसर दिनेछ, साथै चिनियाँ पर्यटकहरूलाई पोखराको सुन्दरता अवलोकन गर्ने अवसर प्रदान गर्नेछ,” बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो नयाँ हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पु¥याउँछ र नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।”

हवाई उडानको माध्यमबाट दुई देशका शहरहरू जोडिँदा आपसी मित्रता र सहकार्य थप बलियो हुने अपेक्षा गरिएको छ। छेन्दुबाट पोखरामा आउने सिचुआन एयरलाइन्समार्फत मंगलबार हुने व्यावसायिक चार्टर उडानसँगै नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि छेन्दु जानेछ। नेपाली प्रतिनिधिमण्डलले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ शहरहरूमा हुने विभिन्न सरकारी र निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ।

तपाईको प्रतिक्रिया